Publicidade

Salmos 29

दावीदको भजन।

1 हे स्वर्गदूतहरू हो, याहवेहको गुणगान गर।

याहवेहलाई महिमा र शक्तिको श्रेय देओ।

2 याहवेहलाई उहाँको नाम अनुसारको महिमा देओ;

याहवेहलाई उहाँको पवित्रतामा सुशोभित भएर आराधना गर।

3 याहवेहको आवाज पानीहरूमाथि प्रतिध्वनि हुँदछ;

महिमाका परमेश्‍वर गर्जनुहुन्छ;

याहवेह शक्तिशाली पानीहरूमाथि गर्जनुहुन्छ।

4 याहवेहको आवाज शक्तिशाली छ;

याहवेहको आवाज प्रतापी छ।

5 याहवेहको आवाजले देवदारुका काठहरू भाँचिन्छन्;

याहवेहले लेबनानका देवदारुका काठहरूलाई टुक्रा-टुक्रा पारिदिनुहुन्छ।

6 उहाँले लेबनानलाई एउटा बाछाझैँ,

र सिरिओनलाई जवान जङ्गली साँढेझैँ उफ्रन लगाउनुहुन्छ।

7 याहवेहको आवाजले

बिजुलीका चमकझैँ प्रहार गर्छ।

8 याहवेहको आवाजले मरुभूमिलाई हल्‍लाउँदछ;

याहवेहले कादेशको मरुभूमिलाई थर्कमान पार्नुहुन्छ।

9 याहवेहको आवाजले फलाँटका रूखहरूलाई बङ्ग्याइदिन्छ,

र जङ्गललाई लाछलुछ पारेर उजाड पारिदिन्छ।

उहाँको भवनमा सबै जना "महिमा!" भन्दै कराउँछन्।

10 याहवेह बाढी माथिको सिंहासनमा विराजमान हुनुहुन्छ;

याहवेह राजा भई सदासर्वदै सिंहासनमा विराजमान हुनुहुन्छ।

11 याहवेहले आफ्ना मानिसहरूलाई शक्ति प्रदान गर्नुहुन्छ;

याहवेहले आफ्ना मानिसहरूलाई शान्तिको आशिष् दिनुहुन्छ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-