Publicidade

Salmos 9

सङ्गीत निर्देशकको निम्ति पुत्रको मृत्युको रागमा आधारित, दावीदको भजन।

1 हे याहवेह, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु;

तपाईंका सबै अचम्मका कामहरूको वर्णन म गर्नेछु।

2 म तपाईंमा रमाउनेछु र आनन्द मनाउनेछु;

हे सर्वोच्‍च परमेश्‍वर, तपाईंको नाममा म स्तुति गाउनेछु।

3 मेरा शत्रुहरू पिठिउँ फर्काएर भाग्छन्;

तपाईंका सामु तिनीहरूले ठेस खान्छन् र नष्‍ट हुन्छन्।

4 किनकि तपाईंले न्याय गर्नुभयो र मेरो पक्षमा निर्णय गरिदिनुभएको छ,

सिंहासनमा विराजमान भई तपाईंले निष्पक्ष न्याय गर्नुभएको छ।

5 तपाईंले जाति-जातिहरूलाई हप्काउनुभएको छ; र दुष्‍टहरूलाई नष्‍ट पार्नुभएको छ;

तपाईंले तिनीहरूका नाम सधैँको निम्ति मेटिदिनुभएको छ।

6 मेरा शत्रुहरूमाथि अनन्त विनाश आइपरेको छ,

तपाईंले तिनीहरूका सहरहरू ध्वस्त पारिदिनुभएको छ;

तिनीहरूको सम्झना नै मेटिएको छ।

7 याहवेहले सदासर्वदाको निम्ति राज्य गर्नुहुन्छ;

उहाँले आफ्नो सिंहासन न्यायको निम्ति स्थापित गर्नुभएको छ।

8 उहाँले धार्मिकतामा संसारको न्याय गर्नहुन्छ;

उहाँले जाति-जातिहरूमाथि निष्पक्षसाथ न्याय गर्नुहुन्छ।

9 याहवेह थिचोमिचोमा परेकाहरूका निम्ति शरणस्थान हुनुहुन्छ,

सङ्कष्‍टको समयमा उहाँ किल्‍ला हुनुहुन्छ।

10 तपाईंका नाम जान्‍नेहरूले तपाईंमा भरोसा राख्दछन्,

किनकि, हे याहवेह, तपाईंको खोजी गर्नेहरूलाई तपाईंले कहिल्यै त्याग्नुभएको छैन।

11 सियोनमा विराजमान हुनुहुने याहवेहको स्तुति गाओ;

जाति-जातिहरूका बीच उहाँका कामहरूको घोषणा गर।

12 किनकि रक्तपातको बदला लिनुहुनेले सम्झना राख्नुहुन्छ;

उहाँले सङ्कष्‍टमा परेकाहरूको पुकारलाई बेवास्ता गर्नुहुन्‍न।

13 हे याहवेह, हेर्नुहोस्, कसरी मलाई मेरा शत्रुहरूले खेदो गर्छन्।

ममाथि कृपा गर्नुहोस् र मलाई मृत्युको मुखबाट छुटाउनुहोस्;

14 ताकि सियोनकी छोरीका ढोकाहरूमा

म तपाईंको प्रशंसाको घोषणा गर्न सकूँ

र त्यहाँ तपाईंले गर्नुभएको मुक्तिमा म रमाउन सकूँ।

15 राष्ट्रहरू आफूले खनेका खाडलमा आफैँ जाकिएका छन्;

तिनीहरूले लुकाइराखेका जालमा तिनीहरूका आफ्नै पाउ परेका छन्।

16 याहवेह त उहाँको न्यायको कामद्वारा चिनिनुहुन्छ;

तिनीहरूका हातका कामद्वारा दुष्‍टहरू जालमा पर्दछन्। हिग्गियोन। सेला

17 दुष्‍टहरूचाहिँ मृत्युको पातालमै फर्केर जानेछन्,

सबै राष्ट्रहरू जसले परमेश्‍वरलाई बिर्सन्छन्।

18 तर परमेश्‍वरले अभावमा हुनेहरूलाई कहिल्यै बिर्सनुहुनेछैन;

पीडितहरूको आशा कहिल्यै चकनाचुर हुनेछैन।

19 हे याहवेह, तपाईं उठ्नुहोस्, नाशवान् मानिस विजयी हुन नपाओस्;

तपाईंको उपस्थितिमा जाति-जातिहरूको न्याय गरियोस्।

20 हे याहवेह, तिनीहरूमाथि त्रास खन्याउनुहोस्;

तिनीहरू त नाशवान् मानिस मात्र हुन् भनी राष्ट्रहरूले जानून्। सेला

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_18-40-07-