Publicidade

Salmos 92

एउटा भजन; विश्राम दिनको निम्ति एउटा गीत।

1 याहवेहको प्रशंसा गर्नु

र हे सर्वोच्‍च परमेश्‍वर, तपाईंको नाममा धुन बजाउनु असल कुरा हो।

2 बिहान तपाईंको अचुक प्रेमको

र राति तपाईंको विश्‍वासयोग्यताको घोषणा गर्नु,

3 दशतारे वीणाको सङ्गीतमा

र सितारको मधुर लयमा तपाईंको स्तुति गर्नु असल कुरा हो।

4 किनकि हे याहवेह, तपाईंले आफ्ना कामद्वारा मलाई आनन्दित पार्नुभएको छ;

तपाईंका हातका कार्यहरू हेरेर म हर्षले गाउँछु।

5 हे याहवेह, तपाईंका कार्यहरू कत्ति महान् छन्!

तपाईंका विचारहरू कत्ति गहन छन्!

6 विवेकहीन मानिसले यो जान्दैन,

मूर्खले यो बुझ्न सक्दैन,

7 यद्यपि दुष्‍टहरू घाँसजस्तै मौलाउँछन्,

र सबै कुकर्मीहरूको फलिफाप पनि हुन्छ,

तर परिणाम स्वरूप तिनीहरू सधैँका निम्ति नष्‍ट पारिनेछन्।

8 तर तपाईं, हे याहवेह, सदासर्वदा उच्‍च हुनुहुन्छ।

9 किनकि, हे याहवेह, तपाईंका शत्रुहरू,

तपाईंका शत्रुहरू निश्‍चय नै नष्‍ट हुनेछन्;

सबै कुकर्मीहरू तितरबितर हुनेछन्।

10 तपाईंले जङ्गली साँढेको सिङजस्तै मेरो सिङ उच्‍च पार्नुभएको छ;

उत्तम तेलले मेरो अभिषेक भएको छ।

11 मेरा आँखाले मेरा विरोधीहरूको हार भएको देखेका छन्;

मेरा कानले मेरा दुष्‍ट वैरीहरू लखेटिएका कुरा सुनेका छन्।

12 धर्मीहरूचाहिँ खजूरको बोटझैँ फस्टाउनेछन्;

तिनीहरू लेबनानका देवदारुजस्तै बढ्नेछन्;

13 तिनीहरू याहवेहका भवनमा रोपिएका हुनेछन्,

हाम्रा परमेश्‍वरका चोकहरूमा तिनीहरू मौलाउनेछन्।

14 बुढेसकालमा पनि तिनीहरू फलदायी हुनेछन्;

तिनीहरू ताजा र हरिया भइरहनेछन्,

15 र यस्तो घोषणा गर्नेछन्, "याहवेह धर्मी हुनुहुन्छ;

उहाँ मेरो चट्टान हुनुहुन्छ, र उहाँमा केही पनि दुष्‍टता छैन।"

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-