Publicidade

Salmos 65

सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन; एक गीत।

1 हे हाम्रा परमेश्‍वर, सियोनमा प्रशंसाले तपाईंलाई पर्खिरहेको छ;

तपाईंसँगको हाम्रो भाकल पूरा गर्नेछौँ।

2 तपाईं प्रार्थना सुनेर त्यसको उत्तर दिने परमेश्‍वर हुनुहुन्छ।

तपाईंकहाँ नै सबै मानिसहरू आउनेछन्।

3 जब हाम्रा पापहरूले हामीलाई डुबाएका थिए,

तब हाम्रा अपराधहरूलाई तपाईंले क्षमा गरिदिनुभयो।

4 धन्यका हुन् ती मानिसहरू, जसलाई तपाईंले चुन्‍नुहुन्छ,

र तपाईंको मन्दिरको आँगनमा बस्‍नलाई आफू नजिक ल्याउनुहुन्छ!

तपाईंका पवित्र भवनका असल थोकहरूले हामी भरिएका छौँ।

5 तपाईंले हामीलाई महान् र धार्मिक कामहरूबाट जवाफ दिनुहुन्छ;

हे हाम्रा उद्धारकर्ता परमेश्‍वर,

पृथ्वीको छेउसम्मका समस्त मानिसहरू

र टाढा-टाढा समुद्रपारि रहने मानिसहरूका आशा तपाईं नै हुनुहुन्छ,

6 तपाईंले आफ्नो शक्तिद्वारा पर्वतहरू निर्माण गर्नुभयो।

तपाईंले आफूलाई शक्तिले सुसज्जित पार्नुभएको छ।

7 जसले समुद्रको गर्जन

र तिनका छालहरूको गर्जन,

र राष्ट्रहरूबीच भएको कोलाहल शान्त गर्नुभएको छ।

8 तपाईंका अलौकिक चिन्हहरू देखेर पृथ्वीभरिका सारा मानिसहरू छक्‍क पर्छन्;

जहाँ सूर्य उदाउँछ, र जहाँ सूर्य अस्ताउँछ,

तपाईंले आनन्दका गीतहरू आह्वान गर्नुहुन्छ।

9 तपाईंले भूमिको वास्ता गर्नुहुन्छ र पानीले भिजाउनुहुन्छ;

तपाईंले भूमिलाई प्रशस्त गरी मलिलो बनाउनुहुन्छ।

मानिसहरूलाई अन्‍नबाली जुटाउनलाई,

परमेश्‍वरका नदीहरू पानीले भरिएका छन्;

किनकि तपाईंले यसरी नै निर्धारण गर्नुभएको छ।

10 तपाईंले त्यसका गराहरूलाई पानीले भिजाउनुहुन्छ

र त्यसका डीलहरूलाई सम्म पार्नुहुन्छ;

तपाईंले खेतलाई झरीले भिजाएर नरम पार्नुहुन्छ,

र त्यसको उब्जनीलाई आशिष् दिनुहुन्छ।

11 तपाईंको प्रशस्तताले वर्षलाई मुकुट पहिराउनुहुन्छ

र तपाईंको प्रशस्त आशिष्‌को अन्‍नबालीले तपाईंका गाडाहरू भरिएर पोखिन्छन्।

12 मरुभूमिका वस्तु चर्ने खर्कहरू हरियो भएका छन्;

डाँडाहरू हर्षले सुसज्जित छन्।

13 हरियो खर्कहरू भेडाबाख्राहरूले भरिभराउ भएका छन्;

र बेँसीहरू बालीले ढाकिएका छन्;

तिनीहरू सबै आनन्दले कराउँछन् र भजन गाउँछन्।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-