Publicidade

Salmos 79

आसापको भजन।

1 हे परमेश्‍वर, राष्ट्रहरूले तपाईंका उत्तराधिकारलाई आक्रमण गरेका छन्;

तिनीहरूले तपाईंका पवित्र मन्दिरलाई अपवित्र पारेका छन्;

तिनीहरूले यरूशलेमलाई भग्नावशेषका थुप्राहरू पारिदिएका छन्।

2 तिनीहरूले तपाईंका सेवकहरूका लासलाई

आकाशका पक्षीहरूलाई आहाराको निम्ति छोडेका छन्,

तपाईंका आफ्ना मानिसका शरीर जङ्गली जनावरहरूलाई दिएका छन्।

3 तिनीहरूले उनीहरूका रगत

यरूशलेमको चारैतिर पानीजस्तै बगाएका छन्,

र उनीहरूका लासलाई गाड्ने कोही छैनन्।

4 हाम्रा छिमेकीहरूका सामु हामी गिल्‍लाका पात्र;

र हाम्रा वरिपरिका मानिसहरूका बीच तिरस्कार र हाँसोका पात्र भएका छौँ।

5 हे याहवेह, तपाईं कहिलेसम्म क्रोधित भइरहनुहुन्छ? के सधैँभरिको लागि?

तपाईंको डाह कहिलेसम्म आगोझैँ दन्किनेछ?

6 तपाईंको क्रोध ती राष्ट्रहरूमाथि खन्याउनुहोस्,

जसले तपाईंलाई स्वीकार गर्दैनन्;

ती राज्यहरूमाथि,

जसले तपाईंको नामलाई पुकार्दैनन्;

7 किनकि तिनीहरूले याकोबलाई निलेका छन्,

र तिनको वासस्थान उजाड पारेका छन्।

8 हाम्रा पितापुर्खाहरूका पापको दण्ड हामीलाई नदिनुहोस्;

तपाईंको कृपा चाँडै हामीलाई भेट्न आओस्,

किनकि हामी अत्यन्तै अभावमा छौँ।

9 हे हाम्रा उद्धारक परमेश्‍वर,

तपाईंको नामको महिमाको खातिर, हामीलाई सहायता गर्नुहोस्;

तपाईंको नामको खातिर हामीलाई छुटाउनुहोस्

र हाम्रा पाप क्षमा गर्नुहोस्!

10 "तिनीहरूका परमेश्‍वर कहाँ छन्?"

भन्‍ने मौका राष्ट्रहरूले नपाऊन्।

तपाईंका आफ्ना सेवकहरूको बगाइएका

रगतको बदला लिनुहुन्छ भन्‍ने कुरा

हाम्रै आँखाको अगि राष्ट्रहरूलाई थाहा गराउनुहोस्।

11 कैदीहरूका विलाप तपाईंको सामु पुगोस्;

तपाईंको शक्तिशाली हातद्वारा मृत्युको दण्डमा परेकाहरूको रक्षा गर्नुहोस्।

12 हे प्रभु, तिनीहरूले तपाईंलाई गरेका तिरस्कारको सट्टा,

हाम्रा छिमेकीहरूसँग सात गुणा बदला लिनुहोस्।

13 तब हामी, तपाईंका मानिसहरू, तपाईंको खर्कका भेडाहरूले,

सदासर्वदा तपाईंको प्रशंसा गर्नेछौँ;

पुस्तौँ-पुस्तासम्म

हामी तपाईंको प्रशंसाको घोषणा गर्नेछौँ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_06-50-08-