Publicidade

Salmos 104

1 हे मेरो प्राण, याहवेहको प्रशंसा गर्!

हे याहवेह, मेरा परमेश्‍वर, तपाईं अति महान् हुनुहुन्छ;

तपाईंले वैभव र प्रतापको पोशाक पहिरनुभएको छ।

2 पोशाक पहिरेझैँ उहाँले आफूलाई ज्योतिले ढाक्नुभएको छ;

उहाँले आकाशलाई पालझैँ तन्काउनुभएको छ;

3 उहाँले आफ्नो माथिल्‍लो कोठाका दलिनहरू पानीमाथि बसाल्नुभएको छ।

उहाँले बादललाई आफ्ना रथ बनाउनुहुन्छ;

र उहाँ बतासका पखेटामा सवार हुनुहुन्छ।

4 उहाँले बतासलाई आफ्ना दूत,

र आगोका ज्वालालाई आफ्ना सेवक बनाउनुहुन्छ।

5 उहाँले पृथ्वीलाई त्यसको जगमा बसाल्नुभयो;

त्यो कहिल्यै डगमगाउनेछैन।

6 तपाईंले त्यसलाई वस्त्रले झैँ गहिरो पानीले ढाक्नुभयो;

पानी पर्वतहरूमाथि पुगेको थियो।

7 तर तपाईंको हप्कीमा पानी भागे,

तपाईंको गर्जनको सोरमा ती तुरुन्तै हटेर गए;

8 पर्वतहरू खडा भए र तल बेँसीहरू देखा परे,

तपाईंले तिनीहरूलाई तोकिदिनुभएको ठाउँमा ती बनिए।

9 पानीले फेरि पृथ्वीलाई नडुबाओस् भनी

तपाईंले त्यसले नाघ्न नसक्ने सिमाना राखिदिनुभयो।

10 उहाँले खोल्साहरूमा पानीका मूलहरू फुटाउनुहुन्छ;

ती पर्वतका बीच भएर बग्दछन्।

11 तिनीहरूले मैदानका सबै जीवजन्तुलाई पानी दिन्छन्;

अनि जङ्गली गधाहरूले पनि आफ्नो तिर्खा त्यहीँ मेटाउँछन्।

12 आकाशका चराचुरुङ्गीहरूले त्यसकै छेउमा आफ्ना गुँड बनाउँछन्;

हाँगाहरूका बीचमा तिनीहरू गीत गाउँछन्।

13 उहाँले आफ्ना उच्‍च कक्षबाट पर्वतहरूमा पानी बर्साउनुहुन्छ;

उहाँको कामका फलबाट पृथ्वी तृप्‍त हुन्छ।

14 उहाँले गाईबस्तुका निम्ति घाँस,

र मानिसले खेतबारीमा परिश्रम गरोस् भनी बोटबिरुवा उमार्नुहुन्छ;

र जमिनबाट आहारा ल्याउनुहुन्छ।

15 मानिसका हृदय हर्षित पार्नलाई दाखमद्य,

त्यसको मुख चहकिलो पार्नलाई तेल,

र त्यसको हृदय बलियो तुल्याउनलाई उहाँले रोटी दिनुहुन्छ।

16 याहवेहका रूखहरू

र उहाँले लगाउनुभएका लेबनानका देवदारुका रूखहरूले पर्याप्‍त पानी पाउँछन्।

17 त्यहाँ चराहरूले आफ्ना गुँड लगाउँछन्;

सारसले पनि सल्‍लाका रूखहरूमा आफ्नो गुँड बनाउँछ।

18 अग्ला पर्वतहरू जङ्गली बाख्राहरूका निम्ति हुन्;

पहराहरू खरायोहरूका निम्ति शरणस्थान हुन्।

19 ऋतु छुट्ट्याउन उहाँले चन्द्रमा बनाउनुभयो;

सूर्यले आफ्नो अस्ताउने बेला जान्दछ।

20 तपाईंले अँध्यारो ल्याउनुहुन्छ, र रात पर्छ;

र सबै जङ्गली पशुहरू निस्किआउँछन्।

21 सिंहहरू आफ्ना शिकारका निम्ति गर्जन्छन्

र तिनीहरूले परमेश्‍वरबाट आफ्ना आहारा खोज्छन्।

22 सूर्य उदाउँदा ती जङ्गली पशुहरू गइहाल्छन्;

तिनीहरू आफ्ना ओडारमा फर्कन्छन् र आराम गर्छन्।

23 तब मानिसहरू आफ्ना काममा जान्छन्,

र साँझसम्म परिश्रम गर्छन्।

24 हे याहवेह, तपाईंले कति धेरै जीवित प्राणीहरू बनाउनुभएको छ!

ती सबै तपाईंले आफ्ना बुद्धिले बनाउनुभएको छ;

पृथ्वी तपाईंको सृष्‍टिले भरिपूर्ण छ।

25 त्यहाँ विशाल र फराकिलो समुद्र छ,

जसमा अनगन्ती जीवजन्तुहरू छन्—

साना र ठूला दुवै किसिमका जीवित प्राणीहरू त्यहाँ छन्।

26 त्यसमाथि जहाजहरू ओहोर-दोहोर गर्दछन्;

त्यहाँ लिव्यातन छ, जसलाई त्यहाँ खेल्नलाई तपाईंले बनाउनुभयो।

27 ठिक समयमा आफ्ना आहारा पाउने आशाले

तिनीहरू सबैले तपाईंको बाटो हेर्छन्।

28 जब तपाईंले त्यो तिनीहरूलाई दिनुहुन्छ,

तब तिनीहरूले त्यो बटुल्छन्;

जब तपाईंले आफ्नो मुट्ठी खोल्नुहुन्छ,

तिनीहरू उत्तम पदार्थहरूले तृप्‍त हुन्छन्।

29 जब तपाईंले आफ्ना मुहार लुकाउनुहुन्छ,

तिनीहरू भयभीत हुन्छन्;

जब तपाईंले तिनीहरूको सास लिनुहुन्छ,

तिनीहरू मर्छन् र माटोमा फर्किजान्छन्।

30 जब तपाईंले आफ्नो आत्मा पठाउनुहुन्छ,

तब तिनीहरूको सृष्‍टि हुन्छ;

र तपाईंले पृथ्वीको रूपलाई नयाँ तुल्याउनुहुन्छ।

31 याहवेहको महिमा सदासर्वदा रहिरहोस्;

याहवेह आफ्ना कार्यहरूमा प्रसन्‍न होऊन्—

32 उहाँले पृथ्वीलाई हेर्नुहुन्छ, र त्यो थरथरी काम्दछ;

उहाँले पर्वतहरूलाई छुनुहुन्छ, र तीबाट धुवाँ निस्कन्छ।

33 म मेरो जीवनभरि याहवेहको भजन गाइरहनेछु;

म बाँचुन्जेल परमेश्‍वरको प्रशंसा गाउनेछु।

34 जब म याहवेहमा आनन्दित हुन्छु;

मेरो ध्यान उहाँलाई मनपर्दो होस्।

35 तर पापीहरू पृथ्वीबाट नाश भएर जाऊन्,

र दुष्‍टहरू रहँदै नरहून्!

हे मेरो प्राण, याहवेहको प्रशंसा गर्!

याहवेहको प्रशंसा गर्!

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-