Publicidade

Salmos 77

सङ्गीत निर्देशकको निम्ति, यदूतूनको लागि, आसापको भजन।

1 मैले सहायताको निम्ति परमेश्‍वरलाई पुकारेँ,

मलाई सुन्‍नुभएको होस् भनेर मैले परमेश्‍वरलाई पुकारेँ।

2 जब म दुःखमा थिएँ, मैले प्रभुलाई प्रार्थना गरेँ;

रातमा नथाकी उहाँमा मैले हात पसारेँ,

तर मेरो हृदयले सान्त्वना पाएन।

3 हे परमेश्‍वर, मैले तपाईंको सम्झना गरेँ, र मैले अफसोस गरेँ;

मैले हृदयमा मनन गरेँ, र मेरो आत्मा शिथिल भयो। सेला

4 तपाईंले मेरा आँखा चिम्‍लन दिनुभएन;

म बोल्न नसक्ने गरी अति दुःखित थिएँ।

5 मैले बितेका दिनहरूको सम्झना गरेँ,

धेरै अगाडिका वर्षहरू;

6 रातका मेरा गीतहरू सम्झेँ।

मैले हृदयमा मनन गरेँ, र मेरो आत्माले यो विचार गर्‍यो:

7 "के प्रभुले सदाको निम्ति मलाई त्याग्नुहुनेछ?

के उहाँले मलाई फेरि कहिल्यै दया देखाउनुहुनेछैन?

8 के उहाँको अचुक प्रेम सदाको लागि मेटिएको छ?

के उहाँका प्रतिज्ञाहरू सदाको लागि असफल भएका हुन्?

9 के परमेश्‍वरले दया देखाउन बिर्सनुभएको हो?

के उहाँले आफ्नो रिसमा दयाको दृष्‍टि रोक्नुभएको हो?" सेला

10 तब मैले सोचेँ, "मेरो पीडाको कारणचाहिँ

सर्वोच्‍च परमेश्‍वरको दाहिने बाहुली परिवर्तन भएको छ।"

11 म याहवेहका हातका कामहरू स्मरण गर्नेछु;

हो, म बितेका समयहरूका तपाईंका अचम्मका कामहरू याद गर्नेछु।

12 म तपाईंका सबै कामहरूलाई विचार गर्नेछु

र तपाईंका सबै महान् कार्यहरूलाई मनन गर्नेछु।

13 हे परमेश्‍वर, तपाईंका मार्गहरू पवित्र छन्;

हाम्रा महान् परमेश्‍वरझैँ अरू देव को छ र?

14 तपाईं अचम्मका कामहरू गर्ने परमेश्‍वर हुनुहुन्छ;

तपाईंले आफ्नो शक्ति जाति-जातिहरूका बीच प्रकट गर्नुहुन्छ।

15 तपाईंको शक्तिशाली बाहुलीले आफ्ना मानिसहरूलाई,

याकोब र योसेफका सन्तानहरूलाई उद्धार गर्नुभयो। सेला

16 हे परमेश्‍वर, समुद्रले तपाईंलाई देख्यो,

सागरले तपाईंलाई देख्यो र डरायो;

गहिरो महासागर डराएर काम्यो।

17 बादलहरूले झरी बर्साए,

आकाशमा चट्याङ गुन्ज्यो;

तपाईंको बिजुली काँडहरू चारैतिर चम्के।

18 तपाईंको चट्याङको गर्जन आँधीबेहरीमा सुनियो;

तपाईंको चम्किलो बिजुलीले संसारलाई उज्यालो पारिदियो;

पृथ्वी काम्यो र भुइँचालो गयो।

19 तपाईंको मार्गले समुद्र भएर डोर्‍यायो;

तपाईंको बाटो महासागरको बीचमा थियो,

यद्यपि तपाईंका पाइलाका छापहरू देखिएनन्।

20 तपाईंले आफ्ना मानिसहरूलाई भेडाका बथानलाई जस्तै

मोशा र हारूनका हातद्वारा डोर्‍याउनुभयो।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-19_11-20-24-