Publicidade

Salmos 38

दावीदको भजन।

1 हे याहवेह, तपाईंको क्रोधमा मलाई नहप्काउनुहोस्;

वा तपाईंको क्रोधमा मलाई ताडना नदिनुहोस्।

2 किनकि तपाईंका काँडहरूले मलाई घोचेका छन्,

र तपाईंको हात ममाथि परेको छ।

3 तपाईंको क्रोधले गर्दा मेरो शरीर तन्दुरुस्त छैन;

मेरा पापको कारणले गर्दा मेरा हाडहरू स्वस्थ छैनन्।

4 मेरा अधर्महरूले मलाई ढाकिसकेको छ,

बोक्न नसक्ने भारीझैँ ती धेरै गह्रौँ भएका छन्।

5 मेरो पापमय मूर्खताको कारणले गर्दा,

मेरा घाउहरू दुर्गन्धित भएका छन्, र सडिसकेका छन्।

6 म झुकेर धुलैमा मिलिसकेको छु;

सारा दिन म विलाप गर्दै हिँड्छु।

7 मेरो ढाड जलनको पीडाले भरिएको छ;

मेरो शरीर स्वस्थ छैन।

8 म दुर्बल भएको छु, र पूर्ण रूपले टुटेको छु;

हृदयको पीडामा म कहालिन्छु।

9 हे प्रभु, मेरा सबै इच्छा तपाईंको अगि खुलस्त छन्;

मेरा सुस्केरा तपाईंबाट लुकेको छैन।

10 मेरो मुटु छिटो-छिटो धड्कन्छ; मेरो बलले भ्याउँदैन;

मेरो आँखाको ज्योति पनि मबाट गइसकेको छ।

11 मेरा मित्रहरू, र सङ्गीहरू मेरा घाउहरूका कारणले गर्दा मबाट अलग बस्छन्;

मेरा छिमेकीहरू टाढै उभिन्छन्।

12 मेरो प्राण लिन खोज्नेहरूले पासो थाप्छन्;

मेरो हानि खोज्नेहरूले मेरो विनाशको कुरा गर्छन्;

दिनभरि छली योजना रच्दछन्।

13 म त बहिरो मानिसझैँ भएको छु, जसले सुन्‍न सक्दैन;

बोल्नै नसक्ने मानिसझैँ म लाटो भएको छु;

14 सुन्‍न नसक्ने मानिसजस्तै म भएको छु,

जसको मुखले जवाफै दिन सक्दैन।

15 हे याहवेह, म तपाईंकै प्रतीक्षा गर्दछु;

हे प्रभु, मेरा परमेश्‍वर, तपाईंले जवाफ दिनुहुनेछ।

16 किनकि मैले भनेँ, "तिनीहरूले मेरो उपहास गर्न नपाऊन्,

वा मेरो गोडा चिप्लँदा तिनीहरूले घमण्ड गर्न नपाऊन्।"

17 किनकि म त ढल्नै लागेको छु;

र मेरो पीडा सधैँ मसँग छ।

18 मेरो अधर्म म स्वीकार गर्दछु;

मेरो पापको कारण म दुःखित छु।

19 कारणविना मेरा शत्रुहरू धेरै भएका छन्;

कारणविना मलाई घृणा गर्नेहरू धेरै छन्।

20 मेरो भलाइको साटो खराबी गर्दछन्,

मैले तिनीहरूको केवल भलाइ गर्न खोज्दा पनि

मेरो विरुद्धमा दोष लगाउँछन्।

21 हे याहवेह, मलाई नत्याग्नुहोस्;

हे मेरा परमेश्‍वर, मबाट टाढा नहुनुहोस्!

22 हे प्रभु, मेरा मुक्तिदाता,

मलाई सहायता गर्न चाँडै आउनुहोस्!

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_18-40-07-