Publicidade

Salmos 19

सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।

1 आकाशले परमेश्‍वरको महिमाको वर्णन गर्दछ;

अन्तरिक्ष मण्डलले उहाँका हातका कामहरू प्रकट गर्दछन्।

2 हरेक दिनले अर्को दिनसँग परमेश्‍वरको महिमाको चर्चा गर्दछ;

हरेक रातले अर्को रातलाई उहाँका ज्ञानको प्रदर्शन गर्दछ।

3 तिनीहरू बोल्दैनन्, न त तिनीहरूको बोल्ने शब्दहरू नै छन्;

तिनीहरूबाट कुनै सोर सुनिँदैन।

4 तरै पनि तिनीहरूका सोर सारा पृथ्वीभरि पुग्दछ;

तिनीहरूका आवाज संसारको अन्त्यसम्म पुगेका छन्।

परमेश्‍वरले आकाशमा सूर्यको निम्ति एउटा वासस्थान बनाउनुभएको छ।

5 जुनचाहिँ विवाह-मण्डपबाट निस्केको दुलहाझैँ छ,

दौडमा दौडिने धावकको विजयमा झैँ रमाउँछ।

6 त्यो आकाशको एक कुनाबाट उदाउँछ,

र अर्को कुनासम्म चक्‍कर लगाउँछ;

त्यसको तापबाट कुनै कुरो लुकिरहन सक्दैन।

7 याहवेहका व्यवस्थाहरू सिद्ध छन्,

प्राणलाई ताजा गराउने,

याहवेहका कानुनहरू विश्‍वासयोग्य छन्;

सोझा व्यक्तिलाई बुद्धिमान् तुल्याउने।

8 याहवेहका नियमहरू ठिक छन्,

हृदयलाई आनन्दित गराउने,

याहवेहका आज्ञाहरू उज्ज्वल छन्,

आँखालाई ज्योति दिने।

9 याहवेहको भय स्वच्छ छ,

अनन्तकाल सम्मै स्थिर रहिरहने;

याहवेहका उर्दीहरू अटल छन्,

ती सबै धार्मिक सत्य छन्।

10 ती सुनभन्दा पनि ज्यादै बहुमूल्य,

निखुर सुनभन्दा, अझ ज्यादा बहुमूल्य छन्;

ती महभन्दा मिठा,

चाकाबाट झर्दै गरेको महभन्दा मिठा छन्।

11 तीद्वारा तपाईंका सेवकले चेतावनी पाउँछ;

ती पालन गर्दा ठूलो प्रतिफल मिल्छ।

12 तर कसले आफ्ना भूलहरू छुट्ट्याउन सक्छन्?

मेरा गुप्‍त दोषहरू क्षमा गरिदिनुहोस्!

13 आफ्नै स्वइच्छाले गरेका पापहरूबाट तपाईंले आफ्नो सेवकलाई जोगाउनुहोस्;

ममाथि ती प्रभुत्व हुन नपाओस्;

अनि म दोषरहित

र घोर अपराधहरूबाट निर्दोष हुनेछु।

14 हे याहवेह, मेरा चट्टान र मेरा उद्धारक!

मेरा मुखका वचनहरू र मेरा हृदयका ध्यान

तपाईंका दृष्‍टिमा ग्रहणयोग्य हुन सकून्।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-