Publicidade

Salmos 88

एउटा गीत, कोरहका छोराहरूको भजन, सङ्गीत निर्देशकको निम्ति—महलत लिन्‍नोत लयमा आधारित, एज्रीका हेमानको मस्किल।

1 हे याहवेह, तपाईं नै त्यो परमेश्‍वर हुनुहुन्छ, जसले मलाई बचाउनुहुन्छ;

दिनरात म तपाईंलाई पुकार्दछु।

2 मेरो प्रार्थना तपाईंको सामु पुगोस्;

मेरो क्रन्दनतिर आफ्नो कान लगाउनुहोस्!

3 किनकि मेरो प्राण पीडाले भरिएको छ

र मेरो जीवन चिहानको नजिकै पुगेको छ।

4 चिहानमा जानेहरूसँगै मेरो गणना भएको छ;

म शक्तिविहीन मानिसझैँ भएको छु।

5 म मरेकाहरूसितै छुट्ट्याइएको छु,

मारिएका मानिसजस्तै, जो चिहानमा नै रहन्छन्,

जसलाई तपाईं कहिल्यै सम्झनुहुन्‍न;

जो तपाईंको वास्ताबाट त्यागिएका छन्।

6 तपाईंले मलाई चिहानको तल्‍लो भागमा,

अति अन्धकारमय गहिराइहरूमा फ्याँकिदिनुभएको छ।

7 तपाईंको क्रोधले मलाई दबाएर राखेको छ;

तपाईंका सबै छालहरूले मलाई व्याकुल पार्नुभएको छ। सेला

8 मेरा अति नजिकका साथीहरूबाट तपाईंले मलाई अलग गर्नुभएको छ;

तपाईंले मलाई तिनीहरूको लागि घृणित तुल्याउनुभएको छ।

म पासोमा परेको छु, र म उम्कन सक्दिनँ;

9 शोकले मेरा आँखाहरू धमिला हुन्छन्।

हे याहवेह, म सारा दिन तपाईंलाई पुकार गर्दछु;

म मेरा हात तपाईंतिर पसार्दछु।

10 के मृतकहरूलाई तपाईं आफ्ना अद्‌भुत कार्यहरू देखाउनुहुन्छ?

के मरेकाहरू जीवित भएर तपाईंको स्तुति गर्छन् र? सेला

11 के तपाईंको अचुक प्रेम चिहानमा,

तपाईंको विश्‍वसताको मृत-लोकमा घोषणा गरिन्छ?

12 के तपाईंको अद्‌भुत कार्यहरू अन्धकारको स्थानमा,

अथवा तपाईंको धार्मिकताका कामहरू स्मरण नहुने देशमा चिनिन्छन् र?

13 हे याहवेह, तर म सहायताको निम्ति तपाईंमा पुकार गर्दछु;

बिहानै मेरो प्रार्थना तपाईंको सामु आउँछ।

14 हे याहवेह, तपाईं मलाई किन इन्कार गर्नुहुन्छ?

अनि आफ्नो मुहार मबाट किन लुकाउनुहुन्छ?

15 मेरो युवावस्थादेखि नै म सताइएको छु, र मर्न लागेको छु;

तपाईंको त्रासबाट म पीडित छु, र म निराश भएको छु।

16 तपाईंको क्रोध ममाथि खनिएको छ;

तपाईंका त्रासहरूले मलाई नष्‍ट पारेका छन्।

17 तिनीहरूले मलाई दिनभरि नै बाढीले झैँ घेर्छन्;

तिनीहरूले मलाई पूर्ण रूपमा घेरेका छन्।

18 तपाईंले मबाट मेरा मित्र र मेरा छिमेकीहरू हटाउनुभएको छ—

अन्धकार मेरो नजिकको मित्र बनेको छ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-