Publicidade

Salmos 106

1 याहवेहको प्रशंसा गर! पदमा पनि

याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ;

उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

2 याहवेहका शक्तिशाली कार्यहरू कसले घोषणा गर्न सक्छ र?

अथवा उहाँको प्रशंसा कसले सम्पूर्ण रूपले घोषणा गर्न सक्छ र?

3 तिनीहरू धन्यका हुन्, जो न्यायमा चल्दछन्,

जसले सधैँ उचित काम गर्दछन्।

4 हे याहवेह, तपाईंका प्रजामाथि कृपादृष्‍टि गर्नुहुँदा, मेरो स्मरण गर्नुहोस्;

तिनीहरूको उद्धार गर्नुहुँदा मलाई पनि सहायता गर्नुहोस्;

5 ताकि तपाईंका चुनिएकाहरूको समृद्धिमा म आनन्दित हुन सकूँ,

तपाईंको राष्ट्रको हर्षमा म सहभागी बन्‍न सकूँ।

र तपाईंको उत्तराधिकारीहरूसँग मिलेर तपाईंलाई प्रशंसा दिन सकूँ।

6 हाम्रा पितापुर्खाले झैँ, हामीले पनि पाप गरेका छौँ;

हामीले अधर्म गरेका छौँ, र दुष्‍टतापूर्ण काम गरेका छौँ।

7 हाम्रा पितापुर्खा इजिप्टमा हुँदा,

तिनीहरूले तपाईंका अचम्मका कामहरूको वास्तै गरेनन्;

तिनीहरूले तपाईंको अपार दयाको सम्झना नै गरेनन्;

र लाल समुद्रको किनारमा तिनीहरूले तपाईंको विद्रोह गरे।

8 तापनि आफ्नो महान् पराक्रम प्रकट होस् भनी

आफ्नो नामको खातिर, उहाँले तिनीहरूलाई बचाउनुभयो।

9 उहाँले लाल समुद्रलाई हकार्नुभयो, र त्यो सुकिहाल्यो;

उहाँले तिनीहरूलाई समुद्रको गहिराइहरूमा

सुक्खा जमिनमाथि जस्तै गरी पार गराउनुभयो।

10 उहाँले तिनीहरूलाई वैरीका हातबाट बचाउनुभयो;

उहाँले तिनीहरूलाई शत्रुको हातबाट उद्धार गर्नुभयो।

11 तिनीहरूका विरोधीहरूलाई पानीले डुबायो;

तिनीहरूमध्ये एउटै पनि बाँचेनन्।

12 तब तिनीहरूले उहाँका प्रतिज्ञाहरूमाथि विश्‍वास गरे;

र उहाँको प्रशंसाको गीत गाए।

13 तर तिनीहरूले तुरुन्तै उहाँका कामहरू बिर्सिहाले;

र तिनीहरूले उहाँको निर्देशनको प्रतीक्षा गरेनन्।

14 मरुभूमिमा तिनीहरू धेरै नै खाने लालसामा परे;

तिनीहरूले उजाडस्थानमा परमेश्‍वरको जाँच गरे।

15 त्यसैले उहाँले तिनीहरूलाई मागेअनुसार दिनुभयो,

तर तिनीहरूका बीचमा महामारी पठाउनुभयो।

16 तिनीहरूले छाउनीमा मोशासित

र याहवेहमा अर्पण गरिएका हारूनसँग डाह गरे।

17 तब धर्ती फाटेर दातानलाई निल्यो;

र अबीरामको दललाई पुरिदियो।

18 तिनीहरूका समर्थकहरूका बीचमा आगो दन्क्यो;

ज्वालाले दुष्‍टहरूलाई भस्म पार्‍यो।

19 होरेबमा तिनीहरूले एउटा बाछा बनाए;

र धातुको त्यस मूर्तिलाई आराधना गरे।

20 यसरी तिनीहरूले परमेश्‍वरलाई दिने आफ्ना महिमा

घाँस खाने साँढेको मूर्तिसँग साटे।

21 तिनीहरूले आफ्ना उद्धारकर्ता परमेश्‍वरलाई बिर्से,

जसले इजिप्टमा महान् कामहरू गर्नुभएको थियो;

22 जसले हामको देशमा अचम्मका कामहरू,

र लाल समुद्रको किनारमा अद्‌भुत कार्यहरू गर्नुभएको थियो।

23 यसकारण उहाँले तिनीहरूलाई नाश गर्छु भन्‍नुभयो।

तर उहाँका चुनिएका जन मोशा

तिनीहरूलाई नाश पार्ने उहाँको क्रोध हटाउनलाई

उहाँको सामु खडा भए।

24 तब तिनीहरूले त्यो आनन्दको देशलाई तुच्छ ठाने;

उहाँका प्रतिज्ञामा तिनीहरूले विश्‍वास गरेनन्।

25 तिनीहरूले आफ्ना पालहरूमा गनगन गरे;

र याहवेहमा आज्ञाकारी भएनन्।

26 यसकारण तिनीहरूलाई उजाडस्थानमा विनाश पार्छु भनी

उहाँले हात उचालेर शपथ खानुभयो,

27 तिनीहरूका वंशलाई जातिहरूका बीचमा छरपस्ट पार्छु,

र तिनीहरूलाई देश-विदेशभरि तितरबितर पार्छु भन्‍नुभयो।

28 तिनीहरूले पोर भन्‍ने ठाउँको बाल-देवताको पूजा गरे,

र निर्जीव देवताहरूलाई चढाइएका बलिका थोकहरू खाए।

29 तिनीहरूले आफ्ना दुष्‍ट कामहरूद्वारा याहवेहलाई क्रोधित तुल्याए;

अनि तिनीहरूका बीचमा महामारी फैलियो।

30 तर पीनहासले साहसका साथ हस्तक्षेप गरे;

र महामारी थामियो।

31 यो तिनको निम्ति अनन्त पुस्ताहरूको लागि

धार्मिकताझैँ गनियो।

32 मेरीबाका पानीको नजिक पनि तिनीहरूले याहवेहलाई क्रोधित तुल्याए;

र तिनीहरूले गर्दा मोशामाथि सङ्कट आयो;

33 किनकि तिनीहरू परमेश्‍वरका आत्माको विरुद्धमा बागी भए;

र मोशाको मुखबाट अनर्थका कुराहरू निस्के।

34 याहवेहले आज्ञा गर्नुभएअनुसार

तिनीहरूले वरपरका जातिहरूलाई नष्‍ट गरेनन्,

35 बरु तिनीहरू ती जातिहरूसित नै घुलमिल भए,

र तिनीहरूका रीतिरिवाज अपनाए।

36 तिनीहरूले उनीहरूका मूर्तिहरूलाई आराधना गरे,

जुन तिनीहरूका निम्ति पासो बन्‍न पुगे।

37 तिनीहरूले दुष्‍ट आत्माहरूका निम्ति

आफ्ना छोराछोरीहरूलाई बलि चढाए।

38 तिनीहरूले निर्दोषको रगत,

अर्थात् आफ्नै छोराछोरीहरूको रगत बगाए,

जसलाई तिनीहरूले कनान देशका मूर्तिहरूका निम्ति बलि चढाए;

र तिनीहरूको रगतले धर्ती अपवित्र भयो।

39 तिनीहरूका आफ्नै दुष्‍ट कामहरूले आफूलाई अशुद्ध पारे;

आफ्नै कामहरूद्वारा तिनीहरू व्यभिचारी भए।

40 त्यसकारण याहवेह आफ्ना मानिसहरूसित रिसाउनुभयो,

र उहाँले आफ्ना उत्तराधिकारीहरूलाई अति घृणा गर्नुभयो।

41 उहाँले तिनीहरूलाई अन्य राष्ट्रहरूका हातमा सुम्पिदिनुभयो;

र तिनीहरूका वैरीहरूले तिनीहरूमाथि शासन गरे।

42 तिनीहरूका शत्रुहरूले तिनीहरूलाई दमन गरे,

र तिनीहरूलाई आफ्ना शक्तिको वशमा पारे।

43 धेरै पटक उहाँले तिनीहरूलाई छुटाउनुभयो,

तर तिनीहरूले विद्रोह नै गर्न रुचाए,

र तिनीहरू आफ्ना पापका कारण पतन हुँदैगए।

44 तापनि उहाँले तिनीहरूको पुकार सुन्‍नुभयो,

र तिनीहरूका कष्‍टमा टिठ्याउनुभयो;

45 तिनीहरूको खातिर उहाँले आफ्नो करार स्मरण गर्नुभयो,

र आफ्नो अचुक प्रेममा दयालु हुनुभयो।

46 तिनीहरूलाई कैद गर्नेहरू सबैलाई

तिनीहरूप्रति दया देखाउने बनाउनुभयो।

47 हे याहवेह हाम्रा परमेश्‍वर, हामीलाई बचाउनुहोस्,

र जाति-जातिहरूबाट हामीलाई एकत्र गर्नुहोस्!

ताकि हामी तपाईंको पवित्र नाममा धन्यवाद चढाउन सकौँ,

र तपाईंको प्रशंसा गर्दै महिमा दिन सकौँ!

48 याहवेह इस्राएलका परमेश्‍वरको प्रशंसा,

अनादिदेखि अनन्तसम्मै भइरहोस्!

सबै मानिसहरूले भनून् "आमेन!"

याहवेहको प्रशंसा गर!

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-