Publicidade

Salmos 33

1 हे धर्मी जनहरू हो, याहवेहमा आनन्दसाथ गाओ;

सोझो मन भएकाहरूले उहाँको स्तुति गर्न सुहाउँछ।

2 वीणा बजाएर याहवेहको प्रशंसा गर;

दसतारे वीणा बजाएर उहाँका लागि सङ्गीत बजाओ।

3 उहाँको निम्ति एउटा नयाँ गीत गाओ;

निपुणतासाथ बाजाहरू बजाओ र आनन्दको जयजयकार गर।

4 किनकि याहवेहको वचन ठिक र सत्य छ;

उहाँ आफ्ना सबै कामहरूमा विश्‍वासयोग्य हुनुहुन्छ।

5 याहवेहले धार्मिकता र न्यायलाई मन पराउनुहुन्छ;

उहाँको अचुक प्रेमले पृथ्वी भरिपूर्ण छ।

6 याहवेहको वचनद्वारा आकाशहरू बनिए,

उहाँकै मुखको सासले सूर्य, चन्द्र र ताराहरू बनिए।

7 उहाँले समुद्रको पानीलाई जम्मा गरेर एक थुप्रो पार्नुहुन्छ;

उहाँले सागरहरूलाई भण्डारगृहमा राख्नुहुन्छ।

8 सारा पृथ्वीले याहवेहको डर मानोस्;

संसारका सारा मानिसहरू, उहाँको भयमा स्थिर भई खडा होऊन्।

9 किनकि उहाँले बोल्नुभयो र पृथ्वी अस्तित्वमा आयो;

उहाँको आज्ञाले पृथ्वी स्थिर भयो।

10 याहवेहले राष्ट्रहरूका योजनाहरू रद्द तुल्याउनुहुन्छ;

उहाँले मानिसहरूका उद्देश्यलाई विफल तुल्याउनुहुन्छ।

11 तर याहवेहका योजनाहरू सदासर्वदा स्थिर रहन्छन्;

उहाँका हृदयका विचारहरू पुस्तौँसम्म रहिरहन्छन्।

12 धन्यको हो त्यो राष्ट्र, जसका परमेश्‍वर याहवेह हुनुहुन्छ,

ती प्रजा, जसलाई आफ्नो उत्तराधिकारको निम्ति उहाँले चुन्‍नुभएको छ।

13 याहवेहले स्वर्गबाट तल हेर्नुहुन्छ;

उहाँले सबै मानव-जातिलाई देख्नुहुन्छ।

14 उहाँले आफ्नो वासस्थानबाट

तल पृथ्वीका सारा बासिन्दाहरूमाथि नजर लगाउनुहुन्छ।

15 उहाँले नै सबैको हृदयको रचना गर्नुहुन्छ,

तिनीहरूका सबै कामको विचार गर्नुहुन्छ।

16 कुनै पनि राजाले उसको ठूलो सेनाद्वारा विजय पाउन सक्दैन;

कुनै पनि योद्धा उसको ठूलो शक्तिद्वारा उम्कन सक्दैन।

17 घोडामाथि छुटकाराको आशा राख्नु व्यर्थ छ;

त्यसका सबै ठूला ताकतले पनि बचाउन सक्दैन।

18 तर याहवेहको नजर उहाँका भय मान्‍नेहरूमाथि रहन्छ;

तिनीहरूमाथि, जसको आशा उहाँको अचुक प्रेममाथि हुन्छ,

19 तिनीहरूका प्राणलाई मृत्युबाट छुटकारा गराउन

र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्न।

20 हाम्रो अन्तस्करणले याहवेहको बाटो हेर्दछौँ;

उहाँ नै हाम्रो सहायक र हाम्रो ढाल हुनुहुन्छ।

21 उहाँमा नै हाम्रा हृदय रमाउँछन्;

किनकि हामी उहाँको पवित्र नाममा भरोसा राख्दछौँ।

22 हे याहवेह, हामीले हाम्रो आशा तपाईंमा राखेअनुसार,

तपाईंको अचुक प्रेम हामीमाथि रहोस्।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-