Publicidade

Salmos 35

दावीदको भजन।

1 हे याहवेह, मलाई विरोध गर्नेहरूको विरोध गरिदिनुहोस्;

मसँग युद्ध गर्नेहरूका विरुद्धमा युद्ध गरिदिनुहोस्।

2 ढाल लिनुहोस् र कवच पहिरनुहोस्;

उठ्नुहोस् र मेरो सहायताको निम्ति खडा हुनुहोस्।

3 मलाई खेद्नेहरूका विरुद्धमा

तपाईंको भाला र बर्छा उठाउनुहोस्।

मलाई भन्‍नुहोस्,

"म तेरो मुक्ति हुँ।"

4 मेरो प्राण लिन खोज्नेहरू

अपमानित होऊन् र शर्ममा परून्;

मेरा विरुद्धमा हानि रच्नेहरू

पछाडि फर्कून् र शर्ममा परून्।

5 याहवेहका स्वर्गदूतले तिनीहरूलाई टाढा लखेटून्;

तिनीहरू बतासले उडाएका भुसजस्ता होऊन्।

6 याहवेहका स्वर्गदूतले तिनीहरूलाई लखेटिरहून्;

तिनीहरूको बाटो अँध्यारो र चिप्लो होस्।

7 किनकि कारणविना तिनीहरूले मलाई फसाउनलाई पासो बिछाए;

र कारणविना मलाई फसाउनलाई तिनीहरूले खाडल खने,

8 अचानक तिनीहरूमाथि विनाश आइपरोस्;

तिनीहरूले लुकाएर थापेको पासोमा तिनीहरू आफैँ परून्,

तिनीहरूले खनेका खाडलमा आफैँ परेर नष्‍ट होऊन्।

9 तब मेरो प्राणचाहिँ याहवेहमा आनन्दित हुनेछ,

र उहाँको मुक्तिमा हर्षित हुनेछ।

10 मेरो पूरा बलले भन्‍नेछु,

"हे याहवेह, तपाईंजस्तो को छ र?

तपाईंले दुर्बलहरूलाई तिनीहरूभन्दा शक्तिशालीहरूबाट बचाउनुहुन्छ,

अनि दुर्बल र खाँचोमा परेकाहरूलाई लुटेराहरूबाट बचाउनुहुन्छ।"

11 निर्दयी साक्षीहरू अगि आउँछन्;

तिनीहरूले मैले जान्दै नजानेका कुराहरू मलाई सोध्छन्।

12 तिनीहरूले मलाई भलाइको बदलामा खराबी गर्छन्,

तपाईंले मेरो प्राणलाई आफन्त गुमाएझैँ शोकमा डुबाउनुभएको छ।

13 तापनि जब तिनीहरू बिरामी भए, मैले भाङ्ग्राको वस्त्र लगाएँ;

र उपवास बसेर आफूलाई दुःखित बनाएँ,

जब मेरा प्रार्थना उत्तरविना नै फर्केर आयो,

14 मेरा मित्र वा भाइको निम्ति शोक गरेझैँ,

म तिनीहरूको निम्ति शोक गर्दै हिँडेँ।

आफ्नी आमाको निम्ति विलाप गरेझैँ

मैले शोकमा शिर झुकाएँ।

15 तर जब मैले ठेस खाएँ, तिनीहरू मेरो विरुद्धमा एकमत भएर हाँसो गरे;

मैले थाहै नपाई आक्रमणकारीहरू मेरो विरुद्धमा जम्मा भए।

तिनीहरूले नथाकी लगातार मेरो निन्दा गरे।

16 भक्तिहीनलेझैँ तिनीहरूले क्रूरतासाथ निन्दा गरे;

तिनीहरूले ममाथि दाह्रा किटे।

17 हे प्रभु, कहिलेसम्म तपाईं हेरिरहनुहुन्छ?

तिनीहरूका आक्रमणबाट,

र ती सिंहहरूबाट मलाई छुटाउनुहोस्।

18 म तपाईंलाई ठूलो महासभामा धन्यवाद चढाउनेछु;

विशाल जनसमूहमा म तपाईंको प्रशंसा गर्नेछु।

19 मेरा शत्रुहरू कारणविना

मेरो विरुद्धमा रमाउन नपाऊन्;

मलाई घृणा गर्नेहरूले कारणविना

एकनासै मेरो खिल्‍ली गर्न नपाऊन्

20 तिनीहरू त शान्तिको कुरै गर्दैनन्;

तर देशमा शान्तिसँग बस्‍ने

मानिसहरूका विरुद्धमा झूटो आरोपहरू रच्दछन्।

21 तिनीहरूले ठूलो मुख बाएर मेरो विरुद्धमा भन्छन्, "ओहो! ओहो!

हामीले आफ्नै आँखाले यो देख्न पायौँ।"

22 हे याहवेह, तपाईंले यो देख्नुभएको छ; अब चुप लागेर नबस्‍नुहोस्।

हे प्रभु, मदेखि टाढा नहुनुहोस्!

23 हे प्रभु, मेरा परमेश्‍वर, उठ्नुहोस्; र मेरो रक्षाको निम्ति जाग्नुहोस्!

मेरो निम्ति लडिदिनुहोस्।

24 हे याहवेह, मेरा परमेश्‍वर, तपाईंको धार्मिकतामा मलाई निर्दोष ठहराउनुहोस्;

तिनीहरू ममाथि रमाउन नपाऊन्।

25 तिनीहरूले आफ्ना मनमा भन्‍न नपाऊन् कि, "आहा! हामीले चिताएजस्तै पुग्यो!"

अथवा भन्‍न नपाऊन्, "हामीले त्यसलाई निलिदियौँ।"

26 मेरो विपतको समयमा मेरो हाँसो उडाउनेहरू

सबै लाजमा र अन्योलमा परून्;

मभन्दा ठूलो हुँ भनी घमण्डले धाक दिनेहरू

सबै शर्म र अपमानले ढाकिऊन्।

27 म निर्दोष साबित भएको कामना राख्नेहरू

आनन्दले जयजयकार गरून् र हर्षित होऊन्;

तिनीहरूले निरन्तर यसो भनिरहून् कि, "याहवेह उच्‍च पारिनुभएको होस्,

उहाँ, जो आफ्नो सेवकको भलाइमा प्रसन्‍न हुनुहुन्छ।"

28 मेरो जिब्रोले तपाईंको धार्मिकताको घोषणा गर्नेछ,

र तपाईंको प्रशंसा दिनभरि गरिरहनेछ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_06-50-08-