Publicidade

Salmos 97

1 याहवेहले राज्य गर्नुहुन्छ, पृथ्वी रमाओस्;

टाढाका समुद्री तटहरू पनि आनन्दित होऊन्।

2 उहाँको वरिपरि बादल र बाक्लो अन्धकार छाएको छ;

धार्मिकता र न्याय उहाँका सिंहासनका जग हुन्।

3 आगो उहाँको अगि-अगि जान्छ,

र उहाँका वरिपरि रहेका वैरीहरूलाई भस्म पार्छ।

4 उहाँका बिजुलीले संसारलाई उज्यालो पार्दछ;

पृथ्वीले यो देख्दछ, र थरथरी काम्दछ।

5 याहवेहको सामु, पर्वतहरू मैनझैँ पग्लन्छन्,

उहाँको सामु, जो सारा पृथ्वीका प्रभु हुनुहुन्छ।

6 स्वर्गले उहाँका धार्मिकताको घोषणा गर्दछ,

र समस्त जातिहरूले उहाँका महिमा देख्नेछन्।

7 मूर्तिहरूलाई आराधना गर्नेहरू, र मूर्तिहरूमा घमण्ड गर्नेहरू,

सबै जना शर्ममा पर्नेछन्;

हे सबै देवताहरू हो, तिमीहरूले याहवेहको आराधना गर!

8 तपाईंकै न्यायको कारण हे याहवेह,

सियोनले सुन्छ र आनन्दित हुन्छ;

र यहूदाका गाउँहरू हर्षित हुन्छन्।

9 किनकि हे याहवेह, तपाईं सारा पृथ्वीभन्दा सर्वोच्‍च परमेश्‍वर हुनुहुन्छ;

तपाईं सबै देवताहरूभन्दा अति उच्‍च हुनुहुन्छ।

10 याहवेहलाई प्रेम गर्नेहरू सबैले दुष्‍टतालाई घृणा गरून्;

किनकि उहाँले आफ्ना भक्तहरूको प्राणको रक्षा गर्नुहुन्छ

र तिनीहरूलाई दुष्‍टहरूको हातबाट छुटाउनुहुन्छ।

11 धर्मीहरूमाथि ज्योति प्रकाशमान् हुन्छ

र सोझो मन भएकाहरूमाथि आनन्द छाउँछ।

12 हे धर्मीहरू हो, याहवेहमा रमाहट गर;

र उहाँका पवित्र नामको प्रशंसा गर!

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-