Publicidade

Salmos 52

सङ्गीत निर्देशकको निम्ति, दावीदको मस्किल—जब एदोमी दोएग शाऊल राजाकहाँ गएर दावीदको बारेमा भनेका थिए: "दावीद अहीमेलेकको घरमा गएका छन्।"

1 हे वीर मानिस, तँ किन आफ्ना दुष्‍ट काममा गर्व गर्छस्?

किन सारा दिन घमण्ड गर्छस्,

तँ, जो परमेश्‍वरको दृष्‍टिमा घृणित छस्?

2 तँ छली कुरा गर्छस्,

तेरा जिब्रोले विनाश पार्ने युक्ति रच्दछ;

यो धारिलो छुरीजस्तै छ।

3 तँ असल कुराभन्दा खराब कुरा मन पराउँछस्;

सत्य कुरा बोल्नुभन्दा बरु झूटो कुरा गर्न रुचाउँछस्।

4 ए छली जिब्रो!

तँलाई हरेक हानिकारक शब्दहरू मन पर्छ।

5 निश्‍चय नै परमेश्‍वरले तँलाई अनन्तको विनाशमा फाल्नुहुनेछ:

उहाँले तँलाई तानेर तेरो वासस्थानबाट निकाल्नुहुनेछ;

उहाँले तँलाई जीवितहरूका देशबाट जरैसमेत उखेल्नुहुनेछ।

6 धर्मी जनहरू त्यो देखेर भय मान्‍नेछन्।

तिनीहरूले यसो भनी तेरो हाँसो उडाउनेछन्,

7 "यो त्यही मानिस हो,

जसले परमेश्‍वरलाई आफ्नो शरणस्थान बनाएन,

तर त्यसले आफ्नो धेरै धनसम्पत्तिमा भरोसा राख्यो,

र अरूलाई विनाश गर्दै आफूचाहिँ बलियो भयो!"

8 तर मचाहिँ परमेश्‍वरको भवनमा बढेको

हरियो जैतुनको रूखजस्तो छु;

म परमेश्‍वरको अचुक प्रेममा

सदासर्वदा भरोसा गर्दछु।

9 तपाईंले गर्नुभएका कार्यहरूका कारण भक्तजनहरूको उपस्थितिमा

सधैँ म तपाईंको प्रशंसा गर्नेछु,

र तपाईंको नाममा म आशा राख्नेछु;

किनकि तपाईंको नाम असल छ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-