Publicidade

Salmos 91

1 जो सर्वोच्‍च परमेश्‍वरको शरणमा बास गर्दछ,

त्यो सर्वशक्तिमान्‌को छत्रछायामुनि सुरक्षित रहनेछ।

2 म याहवेहको बारेमा भन्‍नेछु, "उहाँ मेरा शरणस्थान र किल्‍ला हुनुहुन्छ,

मेरा परमेश्‍वर, उहाँमा नै म भरोसा राख्दछु।"

3 निश्‍चय नै उहाँले तिमीलाई

शिकारीको पासोबाट

र घातक रूढीबाट बचाउनुहुनेछ।

4 उहाँले आफ्ना प्वाँखहरूले तिमीलाई ढाक्नुहुनेछ;

र उहाँको पखेटामुनि तिमीले शरण पाउनेछौ;

उहाँको विश्‍वासयोग्यता तिम्रो ढाल र सुरक्षाको पर्खाल हुनेछ।

5 तिमी रातको त्रासदेखि डराउनेछैनौ,

न त दिउँसो उडेर आउने काँडदेखि नै डराउनेछौ,

6 न अन्धकारमा फैलिने रूढीदेखि,

न त मध्यदिनमा नाश पार्ने महामारीदेखि नै डराउनेछौ।

7 तिम्रो नजिक एक हजार जना ढल्नेछन्,

तिम्रो दाहिने हाततिर दश हजार;

तर त्यो तिम्रो नजिक आउनेछैन।

8 तिमीले आफ्ना आँखाले मात्र त्यो हेर्नेछौ,

र दुष्‍टहरूको दण्ड देख्नेछौ।

9 यदि तिमीले "याहवेह मेरो शरणस्थान हुनुहुन्छ भनी भन्यौ,"

र सर्वोच्‍च परमेश्‍वरलाई आफ्नो वासस्थान बनायौ भने,

10 तिम्रो कुनै अनिष्‍ट हुनेछैन,

तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन।

11 किनकि उहाँले तिम्रो निम्ति आफ्ना स्वर्गदूतहरूलाई

तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ;

12 तिमीलाई तिनीहरूका हातहरूमा उचाल्नेछन्,

ताकि तिम्रो खुट्टा ढुङ्गामाथि नबजारियोस्।

13 तिमीले सिंह र गोमन सर्पलाई कुल्चनेछौ;

जवान सिंह र सर्पलाई तिमीले पैतालामुनि कुल्चनेछौ।

14 याहवेह भन्‍नुहुन्छ, "उसले मलाई प्रेम गरेको हुनाले, म उसलाई छुटाउनेछु;

उसले मेरो नाम ग्रहण गरेको छ, यसकारण म उसको रक्षा गर्नेछु।

15 उसले मलाई पुकार्नेछ, र म उसलाई उत्तर दिनेछु;

उसका दुःखको घडीमा म उसँग रहनेछु;

म उसलाई छुटकारा दिनेछु र आदर गर्नेछु।

16 लामो आयु दिएर म उसलाई सन्तुष्‍ट पार्नेछु

र म उसलाई मेरो मुक्ति देखाउनेछु।"

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-