Publicidade

Salmos 62

सङ्गीत निर्देशकको निम्ति, यदूतूनका लागि, दावीदको भजन।

1 परमेश्‍वरमा मात्र मेरो प्राणले विश्राम पाउँछ;

उहाँबाट नै मेरो मुक्ति आउँछ।

2 साँच्‍चै, उहाँ मेरो चट्टान र मेरो मुक्ति हुनुहुन्छ;

उहाँ मेरो शरणस्थान हुनुहुन्छ, म कहिल्यै हार्नेछैनँ।

3 तिमीहरूले मलाई कहिलेसम्म आक्रमण गरिबस्छौ?

ढल्न लागेको पर्खाल र भत्कन लागेको बारजस्तै मानिसलाई—

तिमीहरू सबै जना मिलेर मलाई ढाल्छौ?

4 साँच्‍चै मलाई मेरो उच्‍च स्थानबाट खसाल्नलाई

तिनीहरूले योजना बनाएका छन्;

तिनीहरू असत्यतामा रमाउँछन्,

तिनीहरूको मुखलेचाहिँ आशिष् दिन्छन्,

तर तिनीहरूको हृदयले सराप्छन्। सेला

5 हे मेरो प्राण, परमेश्‍वरमा नै विश्राम गर्;

मेरो आशा उहाँबाटै आउँछ।

6 साँच्‍चै उहाँ मात्र मेरो चट्टान र मेरो मुक्ति हुनुहुन्छ;

उहाँ मेरो शरणस्थान हुनुहुन्छ, म हार्नेछैनँ।

7 मेरो मुक्ति र मेरो सम्मान परमेश्‍वरमा आधारित छ;

उहाँ मेरो बलियो चट्टान र मेरो शरणस्थान हुनुहुन्छ।

8 हे मानिसहरू हो, हर समय उहाँमा भरोसा गर;

आफ्ना हृदय उहाँको सामु पोख;

किनकि परमेश्‍वर हाम्रा शरणस्थान हुनुहुन्छ।

9 साँच्‍चै निम्न स्तरका मानिसहरू एक मुट्ठी सास मात्र हुन्;

उच्‍च स्तरका मानिसहरू भ्रम मात्र हुन्।

यदि तिनीहरूलाई तराजुमा जोखियो भने तिनीहरूको केही ओजन छैन;

तिनीहरू दुवै एक मुट्ठी सास मात्र छन्।

10 लुटपाट गर्ने काममा भरोसा नगर,

अथवा चोरीका सामानहरूमा घमण्ड नगर;

तिम्रो धनसम्पत्ति वृद्धि भए तापनि

त्यसमा तिम्रो हृदय नलगाओ!

11 एउटा कुरा परमेश्‍वरले भन्‍नुभएको छ,

दुई पटक मैले सुनेको छु:

"हे परमेश्‍वर, शक्ति तपाईंमा नै निहित छ;

12 हे प्रभु, अचुक प्रेम तपाईंमा छ।"

"अनि निश्‍चय नै तपाईंले प्रत्येक मानिसलाई

तिनीहरूका हरेक कामअनुसारको प्रतिफल दिनुहुन्छ।"

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-