Publicidade

Salmos 42

सङ्गीत निर्देशकको निम्ति, कोरहका छोराहरूका मस्किल।

1 जसरी हरिणले खोलाको पानीको तिर्सना गर्दछ,

त्यसरी नै हे मेरा परमेश्‍वर, म तपाईंको तिर्सना गर्दछु।

2 मेरो प्राण परमेश्‍वरको निम्ति, जीवित परमेश्‍वरको निम्ति तिर्खाउँछ।

म कहिले जाऊँ र परमेश्‍वरलाई भेटूँ?

3 मेरो आँसु दिनरात

मेरो भोजन बनेको छ,

मानिसहरू निरन्तर मलाई भनिरहन्छन्,

"खोइ त तेरो परमेश्‍वर?"

4 मेरो हृदयका कुराहरू पोखाउँदा,

यी कुराहरू म सम्झन्छु:

कसरी ती उत्सव मनाउने जन समूहहरूसँग

जयजयकार र धन्यवादसाथ,

महान् परमेश्‍वरको सुरक्षामा म अगुवा भएर

तिनीहरूलाई परमेश्‍वरको भवनतर्फ लाने गर्थेँ।

5 हे मेरो प्राण, तँ किन उदास हुन्छस्?

मेरो अन्तस्करण तँ किन यति व्याकुल हुन्छस्?

परमेश्‍वरमा आशा राख्,

हे मेरा मुक्तिदाता, हे मेरा परमेश्‍वर,

म अझै पनि तपाईंको प्रशंसा गर्नेछु।

6 मेरो प्राण मभित्र उदास भएको छ;

यसकारण म यर्दनको देशबाट

हेर्मोन पर्वत—मिसारको डाँडाबाट

तपाईंलाई सम्झनेछु।

7 तपाईंको छाँगाहरूका गर्जनमा,

सागरले सागरलाई पुकार्दछ;

तपाईंका सम्पूर्ण छालहरू र तरङ्गहरूले

मलाई छोपेका छन्।

8 याहवेहले दिनमा उहाँको अचुक प्रेम पठाउनुहुन्छ,

राति उहाँले मलाई एउटा गीत दिनुहुन्छ,

जुनचाहिँ मेरो जीवनको परमेश्‍वरलाई प्रार्थना हो।

9 परमेश्‍वर मेरा चट्टानलाई म भन्छु,

"तपाईंले मलाई किन बिर्सनुभएको?

शत्रुको थिचोमिचोले गर्दा

म किन शोक गरेर हिँडिरहनुपर्ने?"

10 मेरा हाडहरूमा गहिरो चोट पर्छ,

जब मेरा वैरीहरूले

मलाई गिल्‍ला गर्दै दिनभरि भन्छन्,

"खोइ त तेरो परमेश्‍वर?"

11 हे मेरो प्राण, तँ किन उदास हुन्छस्?

हे मेरो अन्तस्करण, तँ किन यति धेरै व्याकुल हुन्छस्?

परमेश्‍वरमा आशा राख्,

हे मेरा मुक्तिदाता, हे मेरा परमेश्‍वर,

म अझै पनि तपाईंको प्रशंसा गर्नेछु।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-