Publicidade

Salmos 46

सङ्गीत निर्देशकको निम्ति, अलामोत लयमा आधारित, कोरहका छोराहरूका भजन।

1 परमेश्‍वर हाम्रा शरणस्थान र बल हुनुहुन्छ,

सङ्कष्‍टमा सधैँ हाजिर हुने सहायक।

2 यसकारण हामी डराउनेछैनौँ, चाहे पृथ्वीमा ठूलो हलचल आओस्,

चाहे पर्वतहरू समुद्रको गहिराइमा खसून्;

3 चाहे समुद्र गर्जोस् र फीँज काढोस्,

र त्यो डरलाग्दो भेल उर्लेर आउँदा पर्वतहरू थर्कून्। सेला

4 एउटा नदी छ, जसको प्रवाहले परमेश्‍वरको नगर,

सर्वोच्‍च परमेश्‍वरले बास गर्नुहुने पवित्रस्थानलाई हर्षित तुल्याउँछ।

5 परमेश्‍वर त्यस सहरभित्र हुनुहुन्छ, त्यो पतन हुनेछैन;

परमेश्‍वरले त्यसलाई बिहानै सहायता गर्नुहुनेछ।

6 राष्ट्रहरूमा डरले कोलाहल हुन्छ; राज्यहरू पतन हुन्छन्।

परमेश्‍वरले आफ्नो आवाज निकाल्नुहुन्छ, तब पृथ्वी पग्लन्छ।

7 सेनाहरूका याहवेह हाम्रो साथमा हुनुहुन्छ;

याकोबका परमेश्‍वर हाम्रो किल्‍ला हुनुहुन्छ। सेला

8 आओ र याहवेहले गर्नुभएका कामहरू हेर,

उहाँले पृथ्वीलाई कस्तो उजाड पार्नुभएको छ।

9 पृथ्वीको छेउसम्मै

उहाँले मानिसहरूका लडाइँ झगडा रोक्नुहुन्छ;

उहाँले धनु भाँच्नुहुन्छ र भालाहरूलाई टुक्रा-टुक्रा पारिदिनुहुन्छ;

उहाँले रथहरूलाई आगोमा जलाउनुहुन्छ।

10 उहाँले भन्‍नुहुन्छ, "शान्त रहो, र म नै परमेश्‍वर हुँ भनी जान;

म राष्ट्रहरूको बीचमा उच्‍च पारिनेछु,

म पृथ्वीमा उचालिनेछु।"

11 सेनाहरूका याहवेह हाम्रो साथमा हुनुहुन्छ;

याकोबका परमेश्‍वर हाम्रो किल्‍ला हुनुहुन्छ। सेला

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-