Publicidade

Salmos 140

दावीदको भजन।

1 हे याहवेह, दुष्‍ट मानिसहरूदेखि मलाई छुटाउनुहोस्;

हिंस्रक मानिसहरूदेखि मलाई रक्षा गरिदिनुहोस्;

2 जसले आफ्ना हृदयमा दुष्‍ट योजना बनाउँछन्,

र दिनहुँ युद्ध मच्‍चाउँछन्।

3 तिनीहरूले आफ्ना जिब्राहरू सर्पको जत्तिकै विषालु बनाउँछन्;

तिनीहरूका ओठमा गोमन सर्पको विष छ। सेला

4 हे याहवेह, दुष्‍टहरूका हातबाट मलाई सुरक्षित राख्नुहोस्;

हिंस्रक मानिसबाट मलाई रक्षा गर्नुहोस्;

जसले मेरा खुट्टाहरूमा ठेस लाग्ने योजना बनाउँछन्।

5 अहङ्कारी मानिसहरूले मेरो निम्ति पासो थापेका छन्;

तिनीहरूले आफ्ना जाल बिछाएका छन्;

र मेरो निम्ति बाटोमा धराप थापेका छन्। सेला

6 म याहवेहलाई भन्दछु, "तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ।"

हे याहवेह, मेरो दयाको पुकार सुन्‍नुहोस्!

7 हे याहवेह प्रभु, मेरा शक्तिशाली उद्धारक,

लडाइँका दिनमा तपाईंले मेरो शिर सुरक्षित राख्नुहुन्छ।

8 हे याहवेह, दुष्‍टहरूका इच्छा पूरा हुन नदिनुहोस्;

तिनीहरूका योजनाहरू सफल हुन नदिनुहोस्। सेला

9 जसले मलाई चारैतिरबाट घमण्डले शिर उठाउँदै घेरेका छन्;

तिनीहरूका ओठको दुष्‍टता तिनीहरूमाथि नै आइपरोस्!

10 झरझराउँदो भुङ्ग्रो तिनीहरूमाथि ओइरियोस्;

तिनीहरूलाई आगोमा नै फ्याँकियोस्;

र कहिल्यै उठ्न नसक्ने गरी हिलाम्मे खाडलमा जाकिऊन्!

11 निन्दा गर्नेहरू भूमिमा स्थापित नहोऊन्,

हिंस्रक मानिसलाई विनाशले शिकार बनाओस्!

12 म जान्दछु, याहवेहले सताइएहरूका पक्षमा न्याय दिनुहुन्छ;

र खाँचोमा परेकाहरूलाई न्यायको समर्थन गर्नुहुन्छ।

13 निश्‍चय नै धर्मीहरूले तपाईंको नामको प्रशंसा गर्नेछन्;

अनि सत्यनिष्‍ठ मानिसहरू तपाईंको उपस्थितिमा बास गर्नेछन्।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-