Publicidade

Salmos 71

1 हे याहवेह, मैले तपाईंमा शरण लिएको छु;

मलाई कहिल्यै शर्ममा पर्न नदिनुहोस्!

2 तपाईंको धार्मिकतामा मलाई उद्धार गर्नुहोस् र छुटकारा दिनुहोस्;

तपाईंको कान मतिर फर्काउनुहोस् र मलाई बचाउनुहोस्!

3 तपाईं मेरो आश्रयको चट्टान बन्‍नुहोस्,

जहाँ म सधैँ जान सकूँ;

मलाई बचाउने आज्ञा दिनुहोस्;

किनकि तपाईं मेरो चट्टान र मेरो गढ हुनुहुन्छ।

4 हे मेरा परमेश्‍वर, मलाई दुष्‍टहरूका हातबाट,

अन्यायी र निर्दयी मानिसहरूका पञ्जाबाट छुटाउनुहोस्!

5 किनकि हे सार्वभौम याहवेह, तपाईं मेरो आशा हुनुहन्छ;

युवाअवस्थादेखि नै तपाईं मेरो शरणस्थान हुनुहुन्छ।

6 मैले जन्मदेखि नै तपाईंमाथि भरोसा गरेको छु;

मलाई तपाईंले मेरी आमाको गर्भबाट निकाल्नुभएको हो।

म तपाईंको निरन्तर प्रशंसा गरिरहनेछु।

7 म धेरै जनाको निम्ति चिन्ह भएको छु;

तपाईं मेरो बलियो शरणस्थान हुनुहुन्छ।

8 मेरो मुख तपाईंको प्रशंसाले भरिएको छ;

दिनभरि नै म तपाईंको वैभवता घोषणा गर्दछु।

9 मेरो वृद्धावस्थामा मलाई नत्याग्नुहोस्;

मलाई मेरो बल घटेको अवस्थामा नत्याग्नुहोस्!

10 किनकि मेरा शत्रुहरूले मेरो विरुद्धमा कुरा गर्छन्;

अनि मलाई मार्न खोज्नेहरू एकसाथ मिलेर षड्यन्त्र गर्छन्।

11 तिनीहरूले भन्छन्, "परमेश्‍वरले त्यसलाई त्याग्नुभएको छ;

त्यसलाई खेदेर पक्रौँ;

किनकि त्यसलाई बचाउने कोही छैन।"

12 हे मेरा परमेश्‍वर, मबाट टाढा नहुनुहोस्;

हे परमेश्‍वर, मलाई सहायता गर्न चाँडो आउनुहोस्!

13 मलाई दोष लाउनेहरू शर्ममा परेर नाश भइजाऊन्;

मलाई हानि पुर्‍याउन चाहनेहरू

लाजमा र अपमानमा परून्।

14 तर मचाहिँ तपाईंमा सधैँ आशा गरिरहनेछु;

म तपाईंको अझ धेरै प्रशंसा गर्नेछु।

15 मेरो मुखले तपाईंका धार्मिक कामहरू

र तपाईंका उद्धारको कामहरूको बारेमा दिनभरि नै मानिसहरूलाई भन्‍नेछु,

यद्यपि मलाई तिनको बारेमा सबै कुरा कसरी भन्‍ने भनेर थाहा छैन।

16 हे सार्वभौम याहवेह, म तपाईंका महान् कार्यहरूको घोषणा गर्दै आउनेछु,

म तपाईंको धार्मिक कार्यहरूको विषयमा घोषणा गर्नेछु,

केवल तपाईंको धार्मिकताको म बयान गर्नेछु।

17 हे परमेश्‍वर, मेरो युवावस्थाका दिनदेखि नै मलाई तपाईंले सिकाउनुभएको छ;

र आजको दिनसम्मै म तपाईंका अचम्मका कामहरूको घोषणा गर्दछु।

18 हे परमेश्‍वर, अहिले म वृद्ध भइसकेको छु, र मेरो कपाल फुलिसकेको छ;

तबसम्म मलाई नत्याग्नुहोस्,

जबसम्म अर्को पुस्तालाई र पछि आउने सबै मानिसहरूलाई

तपाईंले गर्नुभएका महान् कामहरू र अचम्मका कुराहरू घोषणा गरी सक्दिनँ।

19 हे परमेश्‍वर, तपाईंका धार्मिकता आकाशसम्मै चुलिएको छ;

तपाईंले महान् कामहरू गर्नुभएको छ।

हे परमेश्‍वर, तपाईंजस्तो अरू को छ र?

20 यद्यपि तपाईंले मलाई

धेरै र तिता कष्‍टहरू अनुभव गर्न दिनुभयो;

तपाईंले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुनेछ,

र पृथ्वीको गहिराइहरूबाट

तपाईंले मलाई फेरि माथि ल्याउनुहुनेछ।

21 तपाईंले मेरो इज्जत बढाइदिनुहुनेछ,

र मलाई फेरि सान्त्वना दिनुहुनेछ।

22 हे मेरा परमेश्‍वर, तपाईं विश्‍वासयोग्य हुनुभएको कारण

म वीणा बजाएर तपाईंको प्रशंसा गर्नेछु;

हे इस्राएलका पवित्र परमेश्‍वर,

म सारङ्गी बजाएर तपाईंको प्रशंसा गर्नेछु,

23 मेरा ओठहरू हर्षसाथ जयजयकार गर्नेछन्,

म तपाईंको प्रशंसा गाउँछु;

किनकि मलाई तपाईंले मुक्त गर्नुभएको छ।

24 मेरो जिब्रोले तपाईंका धार्मिक कार्यहरूको बारेमा

दिनभरि नै मानिसहरूलाई भन्‍नेछु;

किनकि मेरो हानि गर्न चाहनेहरू

शर्ममा र अन्योलमा परेका छन्।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_06-50-08-