Publicidade

Salmos 86

सङ्कष्‍टमा दावीदको प्रार्थना।

1 हे याहवेह, मेरो प्रार्थना सुन्‍नुहोस्, र मलाई जवाफ दिनुहोस्;

किनकि म असहाय र अभावग्रस्त छु।

2 मेरो रक्षा गरिदिनुहोस्; किनकि म तपाईंको भक्त हुँ;

तपाईंको सेवकलाई बचाउनुहोस्, जसले तपाईंमा भरोसा गर्दछ।

तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ; 3 हे प्रभु, ममाथि दयालु हुनुहोस्;

किनकि म दिनभरि तपाईंलाई पुकार गर्दछु।

4 आफ्नो सेवकलाई हर्षित पार्नुहोस्;

किनकि प्रभु, म मेरो भरोसा तपाईंमा राख्दछु।

5 हे प्रभु, तपाईं भलो र क्षमाशील हुनुहुन्छ;

तपाईंलाई पुकार्ने सबैलाई तपाईंको अचुक प्रेम प्रशस्त रहन्छ।

6 हे याहवेह, मेरो प्रार्थना सुनिदिनुहोस्;

दयाको निम्ति मेरो पुकारमा ध्यान दिनुहोस्!

7 जब म सङ्कष्‍टमा हुन्छु, म तपाईंलाई पुकार गर्नेछु;

किनकि तपाईंले मलाई जवाफ दिनुहुन्छ।

8 हे प्रभु! तपाईंजस्तो अरू कोही ईश्‍वरहरू छैनन्;

तपाईंका कार्यहरू अरू कुनै ईश्‍वरसँग तुलना गर्न सकिँदैन।

9 हे प्रभु, तपाईंले बनाउनुभएका सबै राष्ट्रहरू

तपाईंको सामु आएर दण्डवत् गर्नेछन्;

तिनीहरूले तपाईंको नामको महिमा गर्नेछन्।

10 किनकि तपाईं महान् हुनुहुन्छ, र अचम्मका कामहरू गर्नुहुन्छ;

तपाईं मात्र परमेश्‍वर हुनुहुन्छ।

11 हे याहवेह, मलाई तपाईंको मार्ग सिकाउनुहोस्;

ताकि म तपाईंको विश्‍वासयोग्यतामा भर पर्न सकूँ;

मलाई एकाग्र मन दिनुहोस्,

र म तपाईंको नामको भय मान्‍न सकूँ।

12 हे प्रभु, मेरा परमेश्‍वर, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु;

म सदासर्वदा तपाईंको नामको महिमा गर्नेछु।

13 किनकि मप्रति तपाईंको अचुक प्रेम महान् छ;

तपाईंले मेरो जीवनलाई

पातालको गहिराइबाट छुटाउनुभएको छ।

14 हे परमेश्‍वर, अहङ्कारी मानिसहरूले मलाई आक्रमण गरिरहेका छन्;

निर्दयी मानिसहरूका समूहले मलाई मार्न खोजिरहेका छन्—

ती मानिसहरू, जसले तपाईंलाई आदर गर्दैनन्।

15 तर प्रभु, तपाईं दयालु र अनुग्रही परमेश्‍वर हुनुहुन्छ;

रिसाउनमा ढिलो, प्रेम र सत्यतामा भरिपूर्ण हुनुहुन्छ।

16 मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस्;

आफ्नो शक्ति तपाईंको सेवकलाई दिनुहोस्,

र आफ्नी सेविकाको छोरालाई बचाउनुहोस्!

किनकि म तपाईंको सेवा गर्दछु।

17 तपाईंका भलाइको चिन्ह मलाई दिनुहोस्;

र मलाई घृणा गर्नेहरू, त्यो देखेर शर्ममा परून्;

किनकि हे याहवेह, तपाईंले मलाई सहायता गर्नुभएको छ र सान्त्वना दिनुभएको छ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-