Publicidade

Salmos 94

1 हे याहवेह, बदला लिनुहुने परमेश्‍वर,

हे बदला लिनुहुने परमेश्‍वर, चम्कनुहोस्!

2 हे पृथ्वीका न्यायाधीश, उठ्नुहोस्;

अहङ्कारीहरूलाई तिनीहरूले पाउनुपर्ने प्रतिफल दिनुहोस्!

3 हे याहवेह, कहिलेसम्म दुष्‍टहरू,

आखिर कहिलेसम्म दुष्‍टहरू उल्‍लासित भइरहून्?

4 तिनीहरू अहङ्कारले भरिएको कुरा गर्छन्;

सबै कुकर्मीहरू घमण्डले भरिएका छन्।

5 हे याहवेह, तिनीहरूले तपाईंका प्रजालाई कुल्चीमिल्ची पार्छन्;

तपाईंका उत्तराधिकारीहरूमाथि अत्याचार गर्छन्।

6 तिनीहरू विधवा र विदेशीहरूलाई मार्दछन्;

अनाथहरूलाई हत्या गर्दछन्।

7 तिनीहरू भन्छन्, "याहवेहले देख्नुहुन्‍न;

याकोबका परमेश्‍वरले चाल पाउनुहुन्‍न।"

8 मानिसहरूका माझमा ए विवेकहीनहरूहो; केही त विचार गर,

ए मूर्खहरू हो, तिमीहरू कहिले बुद्धिमान् हुन्छौ?

9 जसले कान दिनुभयो के उहाँले सुन्‍नुहुन्‍न र?

जसले आँखा बनाउनुभयो के उहाँले देख्नुहुन्‍न र?

10 के राष्ट्रहरूलाई अनुशासन गर्नुहुनेले दण्ड दिनुहुन्‍न र?

के मानव-जातिलाई शिक्षा दिनुहुनेलाई ज्ञानको अभाव हुन्छ र?

11 याहवेहले मानिसका सबै योजनाहरू जान्‍नुहुन्छ;

ती व्यर्थ हुन्, भनी उहाँ जान्‍नुहुन्छ।

12 हे याहवेह, त्यो धन्यको हो, जसलाई तपाईंले अनुशासनमा राख्नुहुन्छ,

जसलाई आफ्नो व्यवस्थाबाट सिकाउनुहुन्छ;

13 दुष्‍टहरूका निम्ति खाडल नखनिएसम्म

तपाईंले त्यसलाई कष्‍टका दिनमा आराम दिनुहुनेछ,

14 किनकि याहवेहले आफ्ना प्रजालाई तिरस्कार गर्नुहुनेछैन।

उहाँले आफ्ना उत्तराधिकारीहरूलाई त्याग्नुहुनेछैन।

15 न्याय फेरि धार्मिकतामा स्थापित गरिनेछ,

र सबै सोझो हृदय भएकाहरू त्यसको पछि लाग्नेछन्।

16 दुष्‍टहरूका विरुद्धमा मसँग को उठ्नेछ?

कुकर्मीहरूका विरुद्ध मेरो पक्षमा को खडा हुनेछ?

17 याहवेहले मलाई सहायता नगर्नुभएको भए,

म चाँडै मृत्युको शून्यतामा बास गर्न पुग्नेथिएँ।

18 जब मैले भनेँ, "मेरो खुट्टा चिप्लँदैछ"

तब हे याहवेह, तपाईंको अचुक प्रेमले मलाई थाम्यो।

19 जब मेरो मनमा ज्यादै चिन्ता-फिक्री भयो,

तब तपाईंको सान्त्वनाले मलाई आनन्दित तुल्यायो।

20 के भ्रष्‍ट शासकहरू तपाईंसँग मिल्न सक्छन्,

जसले आफ्ना उर्दीद्वारा विपत्ति ल्याउँछन्?

21 तिनीहरू धर्मीहरूका विरुद्ध एकजुट हुन्छन्,

र निर्दोषमाथि मृत्युदण्डको आज्ञा गर्छन्।

22 तर याहवेह मेरो किल्‍ला हुनुभएको छ,

र परमेश्‍वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु।

23 उहाँले तिनीहरूका पाप तिनीहरूमाथि नै खन्याइदिनुहुनेछ,

र तिनीहरूका दुष्‍टताको लागि तिनीहरूलाई नाश गर्नुहुनेछ;

याहवेह हाम्रा परमेश्‍वरले तिनीहरूलाई नाश गर्नुहुनेछ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-