Publicidade

Salmos 144

दावीदको भजन।

1 याहवेह मेरा चट्टानलाई प्रशंसा होस्,

जसले मेरा हातहरूलाई युद्धकला,

र मेरा औँलाहरूलाई लडाइँ गर्न सिकाउनुहुन्छ।

2 उहाँ मेरो प्रेमिलो परमेश्‍वर, र मेरो किल्‍ला हुनुहुन्छ;

उहाँ मेरो बलियो किल्‍ला र मेरो उद्धारक,

मेरो ढाल, जसमा म शरण लिन्छु,

उहाँले जाति-जातिहरूलाई मेरो अधीनमा राख्नुहुन्छ।

3 हे याहवेह, मानव-जाति के हो र तपाईं त्यसको वास्ता गर्नुहुन्छ,

मरणशील मानिस को हो, र तपाईं त्यसको विचार गर्नुहुन्छ?

4 तिनीहरू त केवल सासजस्तो मात्र हुन्;

तिनीहरूका आयु ढलिजाने छायाजस्तै मात्र हुन्।

5 हे याहवेह, आफ्ना स्वर्गहरूलाई खोल्नुहोस् र तल ओर्लनुहोस्;

पर्वतहरूलाई छुनुहोस् र तीबाट धुवाँ उठोस्।

6 बिजुली चम्काउनुहोस् र मेरा शत्रुहरूलाई तितरबितर पार्नुहोस्!

आफ्ना काँडहरू छोडेर तिनीहरूलाई अलमलमा पारिदिनुहोस्!

7 उच्‍च स्थानबाट आफ्ना हात लम्काउनुहोस्;

अनि उर्लंदो बाढीबाट

र विदेशीहरूका हातबाट

मलाई उद्धार गर्नुहोस् र छुटाउनुहोस्।

8 जसका मुख झूटले भरिएका छन्,

जसका दाहिने हात छली छन्।

9 हे मेरा परमेश्‍वर, म तपाईंको निम्ति एउटा नयाँ गीत गाउनेछु;

दशतारे वीणा बजाएर म तपाईंको निम्ति सङ्गीत बजाउनेछु,

10 उहाँलाई, जसले राजाहरूलाई विजय दिनुहुन्छ;

जसले आफ्नो सेवक दावीदलाई छुटकारा दिनुहुन्छ।

घातक तरवारबाट 11 मलाई छुटकारा दिनुहोस्;

विदेशीहरूका हातबाट उद्धार गरिदिनुहोस्;

जसको मुख झूटले भरिएको छ,

जसको दाहिने हात छली छ।

12 तब हाम्रा छोराहरू तिनीहरूका युवाअवस्थामा

मौलाउँदा रूखहरूजस्ता हुनेछन्,

र हाम्रा छोरीहरू दरबार सिँगार्न कुँदिएका

स्तम्भहरूजस्ता हुनेछन्।

13 हाम्रा धनसारहरू

हरेक किसिमका अन्‍नले भरिभराउ हुनेछन्;

हाम्रा भेडाहरू हजारौँ गुणा बढ्नेछन्,

हाम्रा खेतमा ती लाखौँ हुनेछन्;

14 हाम्रा गोरुहरूले गह्रौँ भारी बोक्नेछन्।

जहाँ पर्खालहरू फोरिनेछैनन्;

हामी निर्वासनमा जानुपर्नेछैन;

हाम्रा सडकहरूमा विलापको रुवाइ हुनेछैन।

15 धन्यका हुन् ती प्रजाहरू; जसको जीवनमा यो सत्य साबित भएको छ;

धन्यका हुन् ती प्रजाहरू, जसका परमेश्‍वर याहवेह हुनुहुन्छ!

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-18_14-04-22-