Publicidade

Salmos 137

1 बेबिलोनका नदीहरूको किनारमा बसेर,

हामी सियोनलाई सम्झँदै रोयौँ।

2 त्यहाँका लहरे पीपलहरूमा

हामीले आफ्ना वीणाहरू झुण्ड्यायौँ,

3 किनकि हामीलाई बन्दी बनाएर लानेहरूले त्यहाँ हामीलाई गीत गाउन लगाए;

हामीलाई यातना दिनेहरूले हर्षका गीतको माग गरे।

तिनीहरूले भने, "हाम्रा निम्ति सियोनका गीतहरूमध्ये एउटा गीत गाओ!"

4 बिरानो देशमा हुँदा कसरी हामी

याहवेहको गीत गाउन सक्छौँ?

5 हे यरूशलेम, यदि मैले तँलाई बिर्सेको भए,

मेरो दाहिने हातले आफ्नो सिप भूलोस्।

6 यदि मैले तँलाई नसम्झेको भए,

यदि मैले यरूशलेमलाई

आफ्नो सर्वोच्‍च आनन्द नमानेको भए,

मेरो जिब्रो मुखको तालुमा टाँसिजाओस्!

7 हे याहवेह, यरूशलेमको पतन भएको दिन,

एदोमीहरूले के गरे, सम्झनुहोस्।

तिनीहरूले चीत्कार गरे,

"त्यसलाई भत्काओ, जगदेखि नै त्यसलाई भत्काओ!"

8 सर्वनाश हुन लागेकी, हे बेबिलोनकी छोरी,

तैँले हामीमाथि जे गरिस्, त्यसको लागि

तँमाथि प्रतिशोध लिने मानिस धन्य हुनेछ।

9 त्यो धन्य हुनेछ, जसले तेरा स-साना बच्‍चाहरूलाई खोस्छ

र तिनीहरूलाई चट्टानमा पछार्दछ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-