Publicidade

Salmos 102

विपत्तिमा परेको मानिसले याहवेहको सामु वर्णन गरेको विलाप।

1 हे याहवेह, मेरो प्रार्थना सुन्‍नुहोस्;

सहायताको निम्ति मेरो पुकार तपाईंका सामु पुगोस्!

2 मेरो कष्‍टको समयमा

आफ्नो मुहार मबाट नलुकाउनुहोस्;

तपाईंको कान मतिर लगाउनुहोस्;

जब म पुकार गर्दछु, मलाई तुरुन्तै जवाफ दिनुहोस्!

3 किनकि मेरा दिनहरू धुवाँझैँ लोप भएर जान्छन्;

मेरा हाडहरू सल्केका भुङ्ग्रोझैँ जल्दछन्।

4 मेरो हृदय घाँसझैँ ओइलाएर सुकेको छ;

म आफ्नो भोजन खान पनि बिर्सन्छु।

5 मेरो पीडामा म चर्को सोरले कराएको कारण,

म हाड र छाला भएको छु।

6 म उजाडस्थानको उल्‍लुझैँ भएको छु;

भग्नावशेषमा बस्‍ने उल्‍लुझैँ छु।

7 अनिद्राले गर्दा म जागा रहन्छु;

म छानामाथिको एकलो चरोझैँ भएको छु।

8 दिनभरि मेरा शत्रुहरूले मेरो गिल्‍ला गर्छन्;

मेरो खिल्‍ली उडाउनेहरूले मेरो नाम सरापको रूपमा प्रयोग गर्छन्।

9 किनकि म खरानीलाई भोजनको रूपमा खान्छु,

र म आफ्नो आँसु मिसिएको पानी पिउँछु;

10 किनकि तपाईंको ठूलो क्रोधले गर्दा,

तपाईंले मलाई उठाएर एकापट्टि फाल्नुभएको छ।

11 मेरा दिनहरू साँझको छायाजस्तै बित्दछन्;

म घाँसझैँ ओइलाएको छु।

12 तर तपाईं, हे याहवेह, सदाको निम्ति विराजमान हुनुहुन्छ;

तपाईंको कीर्ति पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।

13 तपाईं उठ्नुहुनेछ र सियोनमाथि कृपा गर्नुहुनेछ;

किनकि सियोनमाथि दया गर्ने समय अहिले नै हो;

अब तोकिएको त्यो समय आइपुगेको छ।

14 किनकि तपाईंका सेवकहरूलाई त्यहाँका ढुङ्गाहरू अति प्रिय छन्;

त्यहाँको धुलोले समेत तिनीहरूलाई दया देखाउँछन्।

15 जाति-जातिहरूले याहवेहको नामको भय मान्‍नेछन्,

पृथ्वीका सबै राजाहरूले तपाईंको महिमाको आदर गर्नेछन्।

16 किनकि याहवेहले सियोनलाई पुनर्निर्माण गर्नुहुनेछ,

र उहाँ आफ्नो महिमामा प्रकट हुनुहुनेछ।

17 उहाँले बेसहाराका प्रार्थनाप्रति ध्यान दिनुहुनेछ;

उहाँले तिनीहरूका बिन्तीलाई तुच्छ ठान्‍नुहुनेछैन।

18 यी कुरा भावी पुस्ताको निम्ति लेखियोस्:

ताकि अहिलेसम्म सृष्‍टि नगरिएका मानिसहरूले समेत याहवेहको प्रशंसा गरून्:

19,20 यसरी उहाँले कैदीहरूका क्रन्दन सुन्‍न,

र मृत्युदण्ड पाएकाहरूलाई मुक्त गर्न,

उच्‍च स्थानमा रहेको आफ्नो पवित्रस्थानबाट हेर्नुभयो;

स्वर्गबाट तल पृथ्वीमाथि दृष्‍टि गर्नुभयो।

21,22 त्यस बेला, जब याहवेहको आराधना गर्नलाई

जाति-जातिहरू र राज्यहरू एकत्रित हुनेछन्।

यसकारण सियोनमा याहवेहको नामको

र यरूशलेममा उहाँको प्रशंसा घोषणा गरिनेछ।

23 मेरो जीवनकालमा, उहाँले मेरो बल तोडिदिनुभयो;

र मेरा दिनहरू घटाइदिनुभयो।

24 त्यसैले मैले भनेँ:

"हे मेरा परमेश्‍वर, मेरो आधा उमेरमा नै मलाई उठाइ नलैजानुहोस्;

तपाईंका वर्षहरू त पुस्तौँ-पुस्तासम्म रहिरहन्छन्।

25 सुरुमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो;

र स्वर्ग तपाईंकै हातका काम हुन्।

26 तिनीहरू नाश भएर जानेछन्, तर तपाईंचाहिँ रहिरहनुहुन्छ;

तिनीहरू कपडाझैँ सबै फाटेर जानेछन्।

लुगा फेरेझैँ तपाईंले तिनलाई फेर्नुहुनेछ,

र ती फालिनेछन्।

27 तर तपाईंचाहिँ एकनास रहनुहुन्छ,

तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुनेछैन।

28 तपाईंका सेवकहरूका सन्तान तपाईंको उपस्थितिमा बास गर्नेछन्;

तिनीहरूका सन्तान तपाईंको सामु स्थिर रहनेछन्।"

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-