Publicidade

Salmos 143

दावीदको भजन।

1 हे याहवेह, मेरो प्रार्थना सुन्‍नुहोस्;

दयाको लागि मेरो अन्तर्बिन्तीलाई ध्यान दिनुहोस्;

तपाईंको विश्‍वसनीयता र धार्मिकताअनुसार

मलाई जवाफ दिनुहोस्!

2 आफ्नो सेवकलाई मुद्दा मामिलाको न्यायमा नलैजानुहोस्;

किनकि कोही पनि जीवित मानिस तपाईंको सामु धर्मी ठहरिँदैन।

3 शत्रुले मलाई लखेट्छ;

त्यसले मलाई जमिनमा लडाएर कुल्चन्छ;

धेरै अगि नै मरिसकेकाहरूजस्तै गरी,

त्यसले मलाई अन्धकारमा बस्‍न बाध्य पार्दछ।

4 यसर्थ मेरो आत्मा मभित्र खिन्‍न हुन्छ;

मेरो हृदय मभित्रै विचलित भएको छ।

5 म अतीतका ती दिनहरू सम्झना गर्दछु;

तपाईंका सबै कार्यहरूमा ध्यान गर्दछु,

र तपाईंका हातले गरेका काममाथि विचार गर्दछु।

6 म मेरा हात तपाईंतिर फैलाउँछु;

सुक्खा जमिनझैँ म तपाईंको निम्ति तिर्खाउँछु। सेला

7 हे याहवेह, मलाई झट्टै जवाफ दिनुहोस्;

मेरो आत्मा क्षीण हुँदछ।

तपाईंको मुहार मबाट नलुकाउनुहोस्;

नत्र म चिहानभित्र जानेहरूझैँ हुनेछु।

8 हरेक बिहानले मेरा निम्ति तपाईंको अचुक प्रेमको वचन ल्याओस्;

किनकि तपाईंमा नै मैले आफ्नो भरोसा राखेको छु;

म कुन मार्गमा हिँड्नुपर्ने हो, त्यो मलाई देखाउनुहोस्;

किनकि म मेरो जीवन तपाईंमा अर्पण गर्दछु।

9 हे याहवेह, मलाई मेरा शत्रुहरूबाट छुटाउनुहोस्;

किनकि म आफूलाई तपाईंमा लुकाउँछु।

10 मलाई तपाईंको इच्छा पूरा गर्न सिकाउनुहोस्;

किनकि तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ।

तपाईंको असल आत्माले

मलाई समतल जमिनमा डोर्‍याऊन्!

11 हे याहवेह, आफ्ना नामको खातिर मेरो जीवनको रक्षा गर्नुहोस्;

तपाईंको धार्मिकतामा मलाई कष्‍टबाट छुटाउनुहोस्।

12 तपाईंको अचुक प्रेममा, मेरा शत्रुहरूलाई चुप गराइदिनुहोस्;

मेरा सबै वैरीहरूलाई नाश पार्नुहोस्;

किनकि म तपाईंको सेवक हुँ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-