Publicidade

Salmos 147

1 याहवेहको प्रशंसा गर! पदमा पनि

हाम्रा परमेश्‍वरको स्तुति गाउनु असल हो;

उहाँको प्रशंसा गर्नु कत्ति आनन्दमय र उचित छ!

2 याहवेहले यरूशलेमलाई पुनर्निर्माण गर्नुहुन्छ;

उहाँले इस्राएलका निर्वासितहरूलाई एकिकृत गर्नुहुन्छ।

3 उहाँले हृदय टुटेकाहरूलाई निको पार्नुहुन्छ,

र तिनीहरूका चोटहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ।

4 उहाँले ताराहरूको संख्या तोक्नुहुन्छ;

र ती सबैलाई नामद्वारा बोलाउनुहुन्छ।

5 हाम्रा प्रभु महान् र शक्तिशाली हुनुहुन्छ;

उहाँको समझशक्तिको कुनै सीमा छैन।

6 याहवेहले नम्रहरूलाई सम्हाल्नुहुन्छ;

तर दुष्‍टलाई भुइँमा खसाल्नुहुन्छ।

7 कृतज्ञतासहित याहवेहका निम्ति गाओ;

वीणाको सङ्गीत बजाउँदै हाम्रा परमेश्‍वरको स्तुति गाओ।

8 उहाँले आकाशलाई बादलले ढाक्नुहुन्छ,

र पृथ्वीलाई वर्षा दिनुहुन्छ;

अनि पहाडहरूमा घाँस उमार्नुहुन्छ।

9 उहाँले पशुहरूलाई आहारा दिनुहुन्छ,

र कागका बचेराहरू कराउँदा तिनीहरूलाई खुवाउनुहुन्छ।

10 उहाँको आनन्द घोडाको बलमा होइन,

न त योद्धाका खुट्टामा उहाँ प्रसन्‍न हुनुहुन्छ;

11 तर याहवेह उहाँको भय मान्‍नेहरूसँग,

उहाँको अचुक प्रेममाथि भरोसा राख्नेहरूसँग प्रसन्‍न हुनुहुन्छ।

12 हे यरूशलेम, याहवेहको स्तुति गर्!

हे सियोन, आफ्ना परमेश्‍वरको प्रशंसा गर्।

13 उहाँले तेरा ढोकाहरूका आग्लोहरू बलियो पारिदिनुहुन्छ;

अनि तँभित्र बास गर्ने जातिलाई आशिष् दिनुहुन्छ।

14 उहाँले तेरा सिमानाहरूमा शान्ति ल्याउनुहुन्छ,

उहाँले तँलाई असल गहुँले सन्तुष्‍ट पार्नुहुन्छ।

15 उहाँले पृथ्वीमा आफ्नो आदेश पठाउनुहुन्छ;

उहाँको उर्दी द्रूत गतिमा प्रसार हुन्छ।

16 उहाँले हिउँलाई ऊनजस्तै फैलाउनुहुन्छ;

अनि तुसारोलाई खरानीझैँ छरिदिनुहुन्छ।

17 उहाँले असिना कङ्कढझैँ बर्साउनुहुन्छ;

उहाँका कठ्याङग्रिने चिसोमा को टिक्न सक्छ?

18 उहाँले आफ्ना वचन पठाउनुहुन्छ र ती पगाल्नुहुन्छ;

उहाँले आफ्नो बतास चलाउनुहुन्छ, र पानी बग्न थाल्छ।

19 उहाँले आफ्नो वचन याकोबलाई,

अनि आफ्ना नियम र आदेशहरू इस्राएललाई प्रकट गर्नुभएको छ।

20 उहाँले अरू जातिको निम्ति यस्तो कार्य गर्नुभएको छैन;

तिनीहरूले उहाँका नियमहरू जान्दैनन्।

याहवेहको प्रशंसा गर!

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-