Publicidade

Salmos 56

सङ्गीत निर्देशकको निम्ति, टाढाको बाजको रूखको ढुकुरको लयमा आधारित, दावीदको मिक्ताम; जब पलिश्तीहरूले उनलाई गातमा पक्रेका थिए।

1 हे परमेश्‍वर, ममाथि दया देखाउनुहोस्;

किनकि मेरा शत्रुहरूले मेरो खेदो गर्छन्;

तिनीहरूले मलाई दिनभरि नै आक्रमण गरिरहन्छन्।

2 मेरा विरोधीहरूले दिनभरि नै मलाई खेदो गर्छन्;

आफ्ना घमण्डमा धेरै जनाले मलाई आक्रमण गर्दछन्।

3 जब म डराउँछु, तब तपाईंमा भरोसा राख्दछु।

4 परमेश्‍वरमा, जसको वचनको प्रतिज्ञाको म प्रशंसा गर्दछु—

म उहाँमा भरोसा राख्छु र डराउँदिनँ,

मरणशील मानिसले मलाई के गर्न सक्छ र?

5 तिनीहरूले दिनभरि नै मेरा कुराहरूको उल्टो अर्थ लगाउँछन्;

तिनीहरूका सबै योजनाहरू मेरो हानिको लागि हुन्छन्।

6 मलाई मार्ने आशामा

तिनीहरू षड्यन्त्र रच्छन्, लुकी बस्छन्;

तिनीहरूले मेरा कदमहरू नियाल्छन्।

7 तिनीहरूका दुष्‍टताको कारण तिनीहरूलाई उम्कन नदिनुहोस्;

हे परमेश्‍वर, तपाईंको रिसमा राष्ट्रहरूलाई ढालिदिनुहोस्!

8 तपाईंले मेरो विलापको लेखा राख्नुहोस्;

मेरा आँसुको हिसाब बोतलमा राख्नुहोस्—

तपाईंको पुस्तकमा के ती सबै लेखिएका छैनन् र?

9 जब म सहायताको निम्ति पुकार्छु,

तब मेरा शत्रुहरू मबाट पछि हटेर जानेछन्।

यस कुराबाट परमेश्‍वर मेरो पक्षमा हुनुहुन्छ भन्‍ने कुरा म जान्दछु।

10 परमेश्‍वरमा, जसको प्रतिज्ञाको म प्रशंसा गर्दछु,

याहवेहमा, जसको प्रतिज्ञाको म प्रशंसा गर्दछु—

11 परमेश्‍वरमा म भरोसा राख्दछु; र म डराउँदिनँ।

मलाई मरणशील मानिसले के गर्न सक्छ र?

12 हे मेरा परमेश्‍वर, मैले तपाईंसँग भाकलहरू गरेको छु;

मेरो धन्यवादको बलि म तपाईंलाई चढाउनेछु;

13 किनकि तपाईंले मलाई मृत्युबाट बचाउनुभएको छ;

र मेरा पाउलाई ठेस लाग्नदेखि बचाइदिनुभएको छ,

ताकि म परमेश्‍वरको सामु

जीवनको ज्योतिमा हिँड्न सकूँ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_18-40-07-