Publicidade

Salmos 17

दावीदको प्रार्थना।

1 हे याहवेह मेरो पुकारलाई सुन्‍नुहोस्,

मेरो पुकार उचित छ;

निष्कपट ओठहरूबाट निस्केका

मेरो प्रार्थनामा कान लगाउनुहोस्।

2 मेरो निर्दोषता तपाईंबाट ठहरिएको होस्;

तपाईंका आँखाहरूले जे सही छ, त्यही देखून्।

3 यदि तपाईंले मेरो हृदय जाँच्नुभयो भने,

राति आएर मलाई जाँच गर्नुभए तापनि

तपाईंले मभित्र केही पनि दुष्‍ट योजना भेट्टाउनुहुनेछैन;

मैले संकल्प गरेको छु, मेरो ओठले पाप गर्नेछैन।

4 यद्यपि मानिसहरूले मलाई घूस दिन खोज्छन्;

तपाईंको मुखबाट निस्केका आज्ञाद्वारा

मैले आफूलाई हिंसाको मार्गबाट जोगाइराखेको छु।

5 मेरा पाइलाहरू तपाईंका मार्गमा चलेका छन्;

मेरा पाउहरू चिप्लेका छैनन्।

6 हे परमेश्‍वर, म तपाईंलाई पुकार्छु; किनकि तपाईंले मलाई जवाफ दिनुहुनेछ;

तपाईंको कान मतिर लगाउनुहोस्, र मेरो बिन्ती सुन्‍नुहोस्।

7 तपाईंको अचुक प्रेमको अद्‌भुत कार्यहरू देखाउनुहोस्;

तपाईंमा शरण लिनेहरूलाई तिनीहरूका वैरीहरूबाट

तपाईं आफ्नो दाहिने बाहुलीले बचाउनुहुन्छ।

8 मलाई तपाईंको आँखाको नानीलाई झैँ रक्षा गर्नुहोस्;

तपाईंको पखेटाको छायामा मलाई लुकाउनुहोस्,

9 मलाई नष्‍ट पार्न आइलाग्ने दुष्‍टहरूबाट,

मलाई घेरेर मार्न चाहने घातक शत्रुहरूबाट बचाउनुहोस्।

10 तिनीहरूले आफ्ना निर्दयी हृदय बन्द गरेका छन्,

र तिनीहरूका मुखले घमण्डका कुरा गर्दछन्।

11 मलाई तिनीहरूले खोजी-खोजी निकालेर चारैतिर घेरेका छन्;

मलाई जमिनमा पछार्नलाई तिनीहरू दाउ हेर्दछन्।

12 तिनीहरू शिकारको निम्ति भोकाएको सिंहझैँ छन्,

तिनीहरू एउटा डरलाग्दो सिंहझैँ झाडीमा ढुकिबस्छन्।

13 हे याहवेह, उठ्नुहोस्, तिनीहरूको सामना गर्नुहोस्;

तिनीहरूलाई पराजित गरिदिनुहोस्;

आफ्नो तरवारले मलाई दुष्‍टहरूबाट बचाउनुहोस्।

14 हे याहवेह, जसको पुरस्कार यस संसारको जीवनकालमा सीमित छ,

संसारका यस्ता मानिसहरूबाट तपाईंको बाहुलीले मलाई बचाउनुहोस्।

तपाईंले साँचेर राख्नुभएका थोकहरूले दुष्‍टहरूको पेट भरिएको होस्;

तिनीहरूका छोराछोरीहरूले प्रशस्त खानेकुरा हसुरून्,

र तिनीहरूका आफ्ना भावी छोराछोरीहरूका लागि पनि प्रशस्त रहोस्।

15 तर मचाहिँ धार्मिकतामा तपाईंको मुहार हेर्नेछु;

जब म बिउँझन्छु, तब तपाईंको मुहारको दर्शन गरेर म सन्तुष्‍ट हुनेछु।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-