11 शाऊलले भोलिपल्ट बिहान दावीदलाई मार्न भनी तिनको घरमा चियो गर्न मानिसहरू पठाए। तर तिनकी पत्नी मीकलले तिनलाई होशियार गराएर भनिन्, "यदि तपाईं आज राति नै आफ्नो प्राणको लागि भाग्नुभएन भने भोलि बिहान तपाईं मारिनुहुनेछ।" 12 यसकारण मीकलले दावीदलाई एउटा झ्यालबाट ओरालिदिइन्। तब तिनी भागे, र उम्कन सफल भए। 13 त्यसपछि मीकलले एउटा मूर्ति ल्याएर त्यसलाई ओछ्यानमा सुताइन्। अनि त्यसलाई लुगाले ढाकिदिइन्, र टाउकोमा चाहिँ बाख्राका केही रौँहरू राखिदिइन्।
14 जब शाऊलले दावीदलाई पक्रन भनी मानिसहरू पठाए, तब मीकलले भनिन्, "उहाँ त बिरामी हुनुहुन्छ।"
15 तब शाऊलले दावीदलाई हेर्न भनी ती मानिसहरूलाई फेरि पठाएर भने, "त्यसको पलङसितै त्यसलाई मकहाँ ल्याओ, र म त्यसलाई मार्नेछु!" 16 तर जब ती मानिसहरू भित्र पसे, तब पलङमा मूर्ति थियो, र त्यसको शिरमा चाहिँ बाख्राका रौँ थिए।
17 तब शाऊलले मीकललाई भने, "किन तैँले मलाई यसरी छल गरिस्, र मेरो शत्रुलाई भाग्न दिइस्?"
तब मीकलले भनिन्, "तिनले मलाई भने, ‘मलाई भाग्न देऊ। नत्रता म तिमीलाई मार्नेछु?’ "
18 जब दावीद भागे, र तिनी उम्कन सफल भए, तब तिनी रामामा शमूएलकहाँ गए। अनि शाऊलले तिनलाई गरेका सबै कुराहरू शमूएललाई सुनाइदिए। तब तिनी र शमूएल नैयोतको गाउँमा गए, र त्यहीँ बस्न थाले।