Publicidade

Hebreus 1

परमेश्‍वरको अन्तिम वचन: उहाँको पुत्र

1 बितेका समयमा परमेश्‍वर हाम्रा पुर्खाहरूसँग धेरै पटक विभिन्‍न प्रकारले अगमवक्ताहरूद्वारा बोल्नुभयो; 2 तर यी अन्तिम दिनहरूमा चाहिँ उहाँ आफ्नो पुत्रद्वारा हामीसँग बोल्नुभएको छ। पुत्रलाई नै उहाँले सबै कुराहरूको उत्तराधिकारी बनाउनुभएको हो, जसद्वारा उहाँले समस्त विश्‍वलाई पनि बनाउनुभयो। 3 पुत्रचाहिँ परमेश्‍वरको महिमाको चमक र उहाँ परमेश्‍वरकै स्वभावको दुरुस्त प्रतिरूप हुनुहुन्छ, र उहाँले आफ्नो शक्तिशाली वचनद्वारा सबै थोकहरू सम्हाल्नुहुन्छ। उहाँले पापहरूका लागि शुद्धीकरणको प्रबन्ध मिलाउनुभयो, र उहाँ स्वर्गमा महामहिमको दाहिने हातपट्टि विराजमान हुनुभयो। 4 यसकारण उहाँ स्वर्गदूतभन्दा उच्‍च हुनुभएको छ; अनि तिनीहरूभन्दा उहाँले उच्‍च नाम उत्तराधिकारस्वरूप पाउनुभएको छ।

पुत्र स्वर्गदूतभन्दा महान्

5 स्वर्गदूतहरूमध्ये कसलाई चाहिँ परमेश्‍वरले कहिल्यै यसो भन्‍नुभयो:

"तिमी मेरा पुत्र हौ,

आज म तिम्रो पिता भएको छु?"

अथवा फेरि,

"म तिनका पिता हुनेछु,

र तिनी मेरा पुत्र हुनेछन्?"

6 परमेश्‍वरले आफ्ना प्रथम जन्मेकालाई संसारमा फेरि ल्याउनुहुँदा उहाँ भन्‍नुहुन्छ,

"परमेश्‍वरका सारा स्वर्गदूतहरूले उहाँको आराधना गरून्।"

7 स्वर्गदूतहरूका विषयमा उहाँ भन्‍नुहुन्छ,

"उहाँले आफ्ना स्वर्गदूतहरूलाई बतास,

र आफ्ना सेवकहरूलाई आगोको ज्वाला बनाउनुहुन्छ।"

8 तर पुत्रको विषयमा उहाँ भन्‍नुहुन्छ,

"हे परमेश्‍वर, तपाईंको सिंहासन सदाको निम्ति रहनेछ;

तपाईंको राज्यको राजदण्ड न्यायको राजदण्ड हुनेछ।

9 तपाईंले धार्मिकतालाई प्रेम र दुष्‍टतालाई घृणा गर्नुभयो;

यसकारण परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई तपाईंका सङ्गीहरूभन्दा

उच्‍च पार्नुभएको छ र हर्षको तेलले अभिषेक गर्नुभएको छ।"

10 उहाँ यसो पनि भन्‍नुहुन्छ,

"हे प्रभु, सुरुमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो,

र स्वर्ग तपाईंकै हातका काम हुन्।

11 तिनीहरू नाश भएर जानेछन्, तर तपाईंचाहिँ रहिरहनुहुन्छ;

तिनीहरू कपडाझैँ सबै फाटेर जानेछन्।

12 तपाईंले तिनीहरूलाई वस्त्रलाईझैँ लपेट्नुहुनेछ,

वस्त्रझैँ ती बदली हुनेछन्।

तर तपाईं एकैनास रहनुहुन्छ,

र तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुनेछैन।"

13 स्वर्गदूतहरूमध्ये कसलाई चाहिँ परमेश्‍वरले कुनै समयमा यसो भन्‍नुभयो,

"जबसम्म म तिम्रा शत्रुहरूलाई

तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ,

तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस"?

14 तसर्थ के सबै स्वर्गदूतहरू मुक्ति पाउनेहरूलाई सेवा गर्न पठाइएका सेवा गर्ने आत्माहरू होइनन् र?

Veja também

Publicidade
Hebreus
Ver todos os capítulos de Hebreus
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-18_10-32-54-