Publicidade

Hebreus 13

अन्तिम अर्ती

1 एक-अर्कालाई दाजुभाइ-दिदीबहिनीहरूलाई झैँ प्रेम गरिरहो। 2 अपरिचितहरूको पाहुनासत्कार गर्न नबिर्स; किनकि यसो गरेर कति मानिसहरूले अनजानमै स्वर्गदूतहरूलाई सत्कार गरेका छन्। 3 कैदीहरूलाई तिमीहरू आफू पनि सङ्गी-कैदी भएझैँ र दुर्व्यव्यवहारमा परेकाहरूलाई तिमीहरू आफैँले कष्‍ट भोग गरेझैँ सम्झिदेओ।

4 विवाहलाई सबैले आदरणीय मानून्, र ओछ्यान नबिटुलियोस्; किनकि परमेश्‍वरले व्यभिचारी र सबै अनैतिक सम्बन्धहरूको न्याय गर्नुहुन्छ। 5 तिमीहरूको जीवनशैली पैसाको प्रेमदेखि मुक्त होस्, र तिमीहरूसित जे छ त्यसैमा सन्तुष्‍ट रहो; किनकि परमेश्‍वरले धर्मशास्त्रमा भन्‍नुभएको छ,

"म तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ,

म तिमीहरूलाई कहिल्यै त्याग्नेछैनँ।"

6 यसकारण हामी आत्मविश्‍वाससहित भन्दछौँ,

"प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ।

मरणशील मानिसले मलाई के गर्न सक्छ र?"

7 आफ्ना अगुवाहरूको सम्झना गर, जसले तिमीहरूलाई परमेश्‍वरको वचन सिकाएका थिए। तिनीहरूका जीवनको परिणामलाई विचार गरेर तिनीहरूका विश्‍वासको अनुकरण गर। 8 येशू ख्रीष्‍ट हिजो, आज र सदासर्वदा एकसमान हुनुहुन्छ।

9 सबै किसिमका अनौठा शिक्षाहरूका भ्रममा नपर। हाम्रो हृदयलाई अनुग्रहद्वारा बलियो पार्नु असल छ, तर धर्म विधिअनुसारको भोजनले होइन, जुनचाहिँ खानेहरूको लागि कुनै मूल्यको हुँदैन। 10 हाम्रो एउटा वेदी छ, ती वासस्थानमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन र?

11 प्रधान पुजारीले पाप शुद्धीकरणको बलिको रूपमा पशुहरूको रगत महा-पवित्रस्थानमा लिएर जान्छन्, तर शरीर त छाउनीबाहिर नै जलाइन्छन्। 12 यसकारण येशूले पनि आफ्नै रगतद्वारा मानिसहरूलाई पवित्र पार्नलाई सहरको ढोकाबाहिर नै दुःख भोग्नुभयो। 13 त्यसो भए, हामी पनि छाउनीबाहिर उहाँकहाँ जाऔँ, र उहाँले सहनुभएको अपमान सहौँ। 14 किनकि यस पृथ्वीमा हाम्रो स्थायी सहर छैन, तर हामी त आउनेवाला सहरको प्रतीक्षा गरिरहेका छौँ।

15 यसकारण हामी येशूद्वारा परमेश्‍वरलाई सदैव प्रशंसाको बलिदान चढाऔँ, जो उहाँको नाम स्वीकार गर्ने हाम्रो ओठको फल हो। 16 अनि भलाइ गर्न र अरूसित बाँडचुँड गर्न नबिर्स; किनकि यस्तो बलिदानद्वारा परमेश्‍वर प्रसन्‍न हुनुहुन्छ।

17 तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधिकारको अधीनमा बस; किनकि तिनीहरूले परमेश्‍वरलाई आफ्नो सेवाको लेखा दिनुपर्छ भन्‍ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्दछन्। यो काम तिनीहरूले आनन्दसाथ गरून्, दुःख मानेर होइन, नत्रता त्यसबाट तिमीहरूलाई कुनै लाभ हुनेछैन।

18 हाम्रो निम्ति प्रार्थना गर। हाम्रो विवेक सफा छ भन्‍ने हामी निश्‍चित छौँ; अनि हरेक प्रकारले आदरसाथ जिउने चाहना गर्छौँ। 19 म तिमीहरूलाई प्रार्थना गर्न विशेष आग्रह गर्दछु, ताकि म फेरि चाँडै तिमीहरूकहाँ आउन सकूँ।

आशिष् र अन्तिम अभिवादन

20 अब शान्तिका परमेश्‍वर, जसले अनन्तको करारको रगतद्वारा भेडाका महान् गोठाला हाम्रा प्रभु येशूलाई मरेकाबाट जीवित पार्नुभयो; 21 उहाँले आफ्नो इच्छा पूरा गर्न तिमीहरूलाई हरेक असल थोकले सुसज्जित पारून्। येशू ख्रीष्‍टद्वारा उहाँलाई मनपर्ने कामहरू उहाँले हामीमा गरेका होऊन्। उहाँलाई नै सदासर्वदा महिमा होस्! आमेन।

22 अनि दाजुभाइ-दिदीबहिनीहरू, म तिमीहरूलाई मेरो अर्ती सुनिदेओ भनी आग्रह गर्दछु; किनकि मैले तिमीहरूलाई एउटा छोटो पत्र लेखेको छु।

23 हाम्रा भाइ तिमोथी कैदबाट छोडिएका छन् भन्‍ने तिमीहरूले जान भनी म चाहन्छु। यदि तिनी चाँडै आए भने म तिनीसितै तिमीहरूलाई हेर्न आउनेछु।

24 तिमीहरूका सबै अगुवाहरू र परमेश्‍वरका जनहरूलाई अभिवादन सुनाइदेओ।

इटालीयाबाट आएकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।

25 तिमीहरू सबैसित अनुग्रह रहोस्!

Veja também

Publicidade
Hebreus
Ver todos os capítulos de Hebreus
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-19_11-20-24-