एलीका खराब छोराहरू
12 एलीका छोराहरू बदमास थिए। याहवेहप्रति तिनीहरूमा कुनै श्रद्धाभाव थिएन। 13 पुजारीहरूले गर्नुपर्ने प्रचलन यस्तो थियो, कि जब कसैले बलि चढाउँथे, तब मासु पाकिरहेको बेलामा पुजारीका सेवक हातमा तीन सुइरे काँटा लिएर आउँथे; 14 अनि त्यो काँटालाई भाँडामा अर्थात् कराहीमा डुबाउँथे। तब त्यस काँटाले उठाएर जे जति मासु निकाल्थ्यो, त्यो सबै पुजारीले आफ्ना निम्ति लिन्थे। शीलोमा बलिदान चढाउन आउने सबै इस्राएलीहरूलाई तिनीहरूले त्यसै गर्थे। 15 त्यतिमात्रै होइन, बोसो जलाइनुअगि नै पुजारीका सेवक आएर बलिदान चढाइरहेको मानिसलाई भन्थ्यो, "पुजारीले पोलेर खानको निम्ति केही मासु देऊ; किनकि तिनले तिमीहरूबाट पकाएको मासु होइन, तर काँचो मासु मात्र लिन्छन्।"
16 यदि त्यस मानिसले सेवकलाई यसरी भन्यो भने, "पहिले बोसो जलिसकोस्, र तिमीले चाहेको जति लैजाऊ," तब त्यस सेवकले जवाफ दिन्थ्यो, "होइन, अहिले नै देऊ। यदि तिमीले दिएनौ भने म जबरजस्ती खोसेर लैजानेछु।"
17 ती जवान मानिसहरूको पाप याहवेहको दृष्टिमा अत्यन्त ठूलो थियो; किनकि तिनीहरूले याहवेहको बलिलाई अपमान गरेका थिए।