Publicidade

Colossenses 1

1 परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूको प्रेरित पावल र हाम्रा भाइ तिमोथीबाट,

2 कलस्सेमा भएका परमेश्‍वरका पवित्र जनहरूलाई, जो ख्रीष्‍टमा विश्‍वासयोग्य दाजुभाइ-दिदीबहिनीहरू हुन्:

हाम्रा पिता परमेश्‍वरबाट अनुग्रह र शान्ति!

धन्यवाद ज्ञापन र प्रार्थना

3 हामी तिमीहरूको निम्ति जब प्रार्थना गर्छौँ, हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउँछौँ। 4 किनकि ख्रीष्‍ट येशूमा तिमीहरूको विश्‍वास र परमेश्‍वरका सबै सन्तहरूप्रति तिमीहरूको प्रेमको विषयमा हामीले सुनेका छौँ। 5 त्यो विश्‍वास र प्रेम जुन आशाबाट पलाएर आउँछ, त्यो तिमीहरूको लागि स्वर्गमा जम्मा गरिएको छ, र यस विषयमा तिमीहरूले अगि नै सुसमाचारको सत्य वचनमा सुनिसकेका छौ। 6 जसरी सुसमाचार संसारभरि फैलिएको छ, त्यसरी नै तिमीहरूमा आएको छ। तिमीहरूले यो सुसमाचार जुन दिनदेखि सुन्यौ र साँचो रूपमा परमेश्‍वरको अनुग्रहलाई बुझ्यौ, यसले तिमीहरूमा फल फलाइरहेको छ; र वृद्धि भइरहेको छ। 7 तिमीहरूले जुन सुसमाचार इपाफ्रासबाट सिकेका छौ; तिनी हाम्रा प्रिय सहकर्मी हुन्, जो हाम्रा तर्फबाट ख्रीष्‍टका विश्‍वासयोग्य सेवक हुन्। 8 तिनले पवित्र आत्मामा भएको तिमीहरूको प्रेमको बारेमा पनि हामीलाई बताएका छन्।

9 यसकारण हामीले तिमीहरूको विषयमा सुनेको दिनदेखि तिमीहरूको निम्ति प्रार्थना गर्न छोडेका छैनौँ। हामी निरन्तर बिन्ती गरिरहेका छौँ, कि परमेश्‍वरले तिमीहरूलाई आत्माले दिइने समझशक्ति र सारा बुद्धिद्वारा उहाँको इच्छाको ज्ञानले भरिदिनुभएको होस्, 10 ताकि तिमीहरू प्रभुको योग्य जीवन बिताउन र उहाँलाई हरेक किसिमले प्रसन्‍न पार्न, हरेक असल कामको फल फलाउन परमेश्‍वरको ज्ञानमा बढ्दै जाओ। 11 तिमीहरू उहाँको महिमित शक्तिअनुसार पूर्ण सामर्थ्यले बलिया होओ, ताकि तिमीहरूमा धेरै सहनशीलता र धैर्यता होस्। 12 ज्योतिको राज्यमा उहाँका पवित्र सन्तहरूको पैतृक-अधिकारमा तिमीहरूलाई सहभागीको योग्य तुल्याउनुहुने पितालाई आनन्दसाथ धन्यवाद चढाओ। 13 किनकि उहाँले हामीलाई अन्धकारको राज्यबाट छुटाउनुभयो र उहाँले आफ्नो प्यारो पुत्रको राज्यमा ल्याउनुभयो, 14 जसमा हाम्रो उद्धार छ, पापहरूको क्षमा छ।

ख्रीष्‍टको सर्वश्रेष्‍ठता

15 ख्रीष्‍ट अदृश्य परमेश्‍वरका प्रतिरूप, सारा सृष्‍टिमा ज्येष्‍ठ हुनुहुन्छ। 16 किनकि उहाँमा नै सबै थोकहरू सृष्‍टि भएका थिए: स्वर्गमा र पृथ्वीमा भएका थोकहरू, देखिने र नदेखिने, सिंहासनहरू होस् वा शक्तिहरू वा शासकहरू वा अधिकारीहरू; सबै उहाँद्वारा र उहाँकै निम्ति सृष्‍टि गरिएका हुन्। 17 उहाँ सबै थोकभन्दा अगाडि हुनुहुन्छ, र सबै थोक उहाँमा नै एकसाथ मिलेर रहेका छन्। 18 उहाँ मण्डलीका शिर हुनुहुन्छ, र मण्डलीचाहिँ उहाँको शरीर हो। हरेक थोकमा उहाँको सर्वश्रेष्‍ठता होस् भनेर उहाँ नै आदि हुनुहुन्छ; मरेकाहरूबाट जीवित हुनेहरूमा ज्येष्‍ठ हुनुहुन्छ। 19 किनकि उहाँको सारा परिपूर्णता ख्रीष्‍टमा बास भएकोमा परमेश्‍वर प्रसन्‍न हुनुभयो। 20 अनि उहाँद्वारा परमेश्‍वरले सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो। उहाँले क्रूसमा बगाउनुभएको ख्रीष्‍टको रगतको माध्यमद्वारा स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरूमा शान्ति गराउनुभयो।

21 विगतमा तिमीहरू आफ्नो दुष्‍ट चालको कारण परमेश्‍वरदेखि बिराना भएका थियौ र आफ्ना मनमा शत्रुहरू भएका थियौ। 22 तर अब तिमीहरूलाई उहाँको दृष्‍टिमा पवित्र, निष्खोट र निर्दोष उपस्थित गराउन, उहाँले तिमीहरूलाई आफ्नो भौतिक शरीरको मृत्युद्वारा मिलापमा ल्याउनुभएको छ। 23 यदि तिमीहरू आफ्नो विश्‍वासमा अटल र स्थिर भई रह्‍यौ भने; अनि तिमीहरूले आशा राखेका सुसमाचारबाट पछि हटेनौ भने यो त्यही सुसमाचार हो, जुनचाहिँ तिमीहरूले सुनेका छौ, जुन सुसमाचार स्वर्गमुनि भएका हरेक प्राणीका लागि घोषणा गरिएको छ, र म पावल त्यसैको सेवक नियुक्त भएको छु।

मण्डलीको निम्ति पावलको परिश्रम

24 अब तिमीहरूका निम्ति कष्‍ट भोगिरहेकोमा म आनन्दित छु; अनि उहाँको शरीर, जुनचाहिँ मण्डली हो, यसको निम्ति ख्रीष्‍टका कष्‍टहरूको कमीमा म आफ्नो शरीरमा त्यो पूरा गर्दछु। 25 परमेश्‍वरले मलाई तिमीहरूकहाँ सम्पूर्ण रूपमा वचन प्रस्तुत गर्न भनेर, उहाँको आज्ञाअनुसार म त्यस मण्डलीको सेवक बनाइएको छु— 26 अर्थात् त्यो रहस्यमय कुरा, जो युगौँयुग र पुस्तौँदेखि गुप्‍त राखिएको थियो, तर अब त्यो प्रभुका जनहरूलाई प्रकट गरिएको छ। 27 यस महिमामय सम्पत्तिको रहस्यचाहिँ ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्छ अर्थात् महिमाको आशा, त्यो कुरा गैरयहूदीहरूलाई थाहा गराउनको लागि परमेश्‍वरले तिनीहरूलाई चुन्‍नुभएको छ।

28 ख्रीष्‍टलाई नै हामी घोषणा गर्दछौँ, सारा बुद्धिसाथ हरेकलाई सल्‍लाह र शिक्षा दिन्छौँ, ताकि हामीले हरेकलाई ख्रीष्‍टमा परिपक्व प्रस्तुत गराउन सकौँ। 29 यसैको लागि ममा काम गर्ने ख्रीष्‍टको शक्तिशाली सामर्थ्यमा भर पर्दै, म काम गर्दछु र कडा सङ्घर्ष गर्दछु।

Veja também

Publicidade
Colossenses
Ver todos os capítulos de Colossenses
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-