Publicidade

Colossenses 4

1 हे मालिकहरू हो, आफ्ना सेवकहरूसँग न्यायसङ्गत र उचित व्यवहार गर; किनकि तिमीहरू जान्दछौ स्वर्गमा तिमीहरूका पनि मालिक हुनुहुन्छ।

अन्य निर्देशनहरू

2 सतर्क भएर धन्यवादसाथ आफूलाई प्रार्थनामा अर्पण गर। 3 अनि हाम्रो लागि पनि प्रार्थना गर, ताकि परमेश्‍वरले हामीलाई वचनको निम्ति ढोका खोलिदेऊन्; अनि हामीले ख्रीष्‍टको रहस्यको घोषणा गर्न सकौँ, जसको लागि म साङ्लामा बाँधिएको छु। 4 जसरी मैले स्पष्‍टसँग घोषणा गर्नुपर्ने हो, त्यसरी नै म घोषणा गर्न सकूँ भनेर प्रार्थना गर; 5 बाहिरकाहरूसँग बुद्धिमानीपूर्वक व्यवहार गर; सबै अवसरको पूरा सदुपयोग गर। 6 तिमीहरूको बोलीवचन सधैँ नुनजस्तो स्वादिलो र अनुग्रहपूर्ण होस्, ताकि सबैलाई कस्तो जवाफ दिनुपर्छ भनी तिमीहरूले जान्‍न सक।

अन्तिम अभिवादन

7 तुखिकसले तिमीहरूलाई मेरो बारेमा सबै जानकारी दिनेछन्। तिनी प्रभुमा एक प्रिय भाइ, एक विश्‍वासयोग्य सेवक र सङ्गी-सेवक हुन्। 8 मैले तिनलाई यस उद्देश्यले तिमीहरूकहाँ पठाउँदैछु, कि तिमीहरूले हाम्रो परिस्थितिहरूबारे जान्‍न सक र तिनले तिमीहरूको हृदयलाई उत्साहित गराऊन्। 9 तिनी ओनेसिमससँग आइरहेका छन्, जो तिमीहरूमध्येका एक हुन्, र जो हाम्रा विश्‍वासयोग्य प्रिय भाइ हुन्। तिनीहरूले यहाँको सबै हालखबर तिमीहरूलाई भनिदिनेछन्।

10 मेरा सङ्गी-कैदी अरिस्तार्खसले तिमीहरूलाई अभिवादन पठाएका छन्, र मर्कूसले पनि, जो बारनाबासका भाइ पर्छन्। (तिमीहरूले तिनको विषयमा आदेश पाएका छौ, यदि तिनी तिमीहरूकहाँ आए भने तिनलाई स्वागत गर।)

11 युस्तस भनिने येशूले पनि अभिवादन पठाएका छन्। परमेश्‍वरको राज्यको निम्ति मेरा सहकर्मीहरूमध्ये यहूदीहरूबाट यिनीहरू मात्र हुन्, र यिनीहरू मेरो लागि ठूलो सहयोग भएका छन्।

12 तिमीहरूमध्येका एक जना र ख्रीष्‍ट येशूका सेवक इपाफ्रासले अभिवादन पठाएका छन्। तिमीहरूका निम्ति तिनले जागा रहेर निरन्तर प्रार्थना गरिरहेका छन्, ताकि तिमीहरू सम्पूर्ण रूपले निश्‍चित र परिपक्व भई परमेश्‍वरको सारा इच्छामा स्थिर भई लागिरहन सक। 13 म तिनको निम्ति साक्षी दिन्छु: तिनले तिमीहरूका निम्ति, लाउडिकियामा र हिरापोलिसमा हुनेहरूका निम्ति कठोर परिश्रम गरिरहेका छन्।

14 हाम्रा प्रिय मित्र वैद्य लूका र डेमासले पनि अभिवादन पठाएका छन्।

15 लाउडिकियामा भएका मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई, निम्फा र तिनका घरमा भएका मण्डलीलाई मेरो अभिवादन भनिदेओ।

16 तिमीहरूलाई यो पत्र पढेर सुनाइसकेपछि यसलाई लाउडिकियाको मण्डलीमा पनि पढ्न लगाओ र तिमीहरूले फेरि लाउडिकियाबाट आएको पत्र पनि पढ।

17 अर्खिप्पसलाई भन, "तिमीले प्रभुबाट पाएको काम होसियारीसाथ पूरा गर।"

18 म पावल, आफ्नै हातले यो अभिवादन लेख्दैछु। मेरा साङ्लाहरूको सम्झना गर। तिमीहरूसँग अनुग्रह रहोस्!

Veja também

Publicidade
Colossenses
Ver todos os capítulos de Colossenses
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-