41 त्यो केटो गएपछि दावीद त्यस ढुङ्गाको दक्षिणतिरबाट उठेर आए, र जोनाथनको सामु आफ्नो अनुहार भुइँतिर निहुराएर तीनपल्ट तिनलाई दण्डवत् गरे। तब तिनीहरूले एक-आपसमा म्वाइँ खाएर एकसाथ रोए। तर दावीद भने झन् धेरै रोए।
42 जोनाथनले दावीदलाई भने, "शान्तिसित जानुहोस्; किनकि हामीले याहवेहको नाममा एक-आपसमा मित्रताको शपथ खाएर यसो भनेका छौँ, ‘याहवेह तपाईं र मेरो बीचमा, र तपाईंका सन्तान र मेरा सन्तानका बीचमा सधैँका निम्ति साक्षी हुनुहुन्छ।’ " त्यसपछि दावीद गइहाले, र जोनाथनचाहिँ सहरतिर लागे।