Publicidade

2 Coríntios 8

प्रभुको जनका निम्ति भेटी सङ्कलन

1 अब हे दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्‍वरले म्यासिडोनियाका मण्डलीहरूलाई दिनुभएको अनुग्रहबारे तिमीहरूले जान भनी हामी चाहन्छौँ। 2 तिनीहरू अति डरलाग्दा परीक्षाहरूमा परे तापनि तिनीहरू आनन्दले भरिपूर्ण थिए, र अत्यन्त दरिद्र भए तापनि तिनीहरूले उदार चित्तले दान दिए। 3 किनकि म यो साक्षी दिन्छु, तिनीहरूले दिन सक्ने जति दिए, यहाँसम्म कि तिनीहरूको सामर्थ्यभन्दा बढी नै स्वेच्छापूर्वक दिए। 4 प्रभुका जनहरूको सेवाका लागि दान दिने सुअवसर पाऔँ भनी हामीसित तिनीहरूले खुरन्धार बिन्ती गरे। 5 अनि तिनीहरूले हामीले आशा गरेको भन्दा प्रशस्त गरे: तिनीहरूले पहिले आफैँलाई प्रभुमा समर्पण गरे; त्यसपछि परमेश्‍वरको इच्छाअनुसार हामीकहाँ पनि आफैँलाई समर्पण गरे। 6 यसकारण तीतसले पहिलेबाट नै दान उठाउने काम थालेका हुनाले तिमीहरूको भेटी सङ्कलनको काम पूरा गरून् भनी हामीले तिनलाई आग्रह गर्‍यौँ। 7 अनि तिमीहरूले प्रत्येक कुरामा, विश्‍वासमा, वचनमा, ज्ञानमा, सम्पूर्ण तत्परतामा र हामीप्रति तिमीहरूको प्रेममा सर्वश्रेष्‍ठता देखाएझैँ तिमीहरूले दान दिने काममा पनि सर्वश्रेष्‍ठता देखाओ।

8 म तिमीहरूलाई आज्ञा दिन्‍नँ, तर अरूको तत्परतासित तिमीहरूको प्रेमको निष्कपटता जाँच्न चाहन्छु। 9 किनकि तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह जान्दछौ, उहाँ धनी भएर पनि तिमीहरूको निम्ति गरिब हुनुभयो, ताकि उहाँको दरिद्रताबाट तिमीहरू धनी बन।

10 अनि तिमीहरूका लागि के कुराचाहिँ उत्तम होला भनेर यस विषयमा मेरो सुझाव यस्तो छ: बितेको वर्षमा तिमीहरू दिने कुरामा मात्र होइन, तर यसो गर्ने इच्छाको लागि पनि प्रथम थियौ। 11 अब यस कामलाई पूरा गर, ताकि तिमीहरूको यसो गर्ने इच्छा तिमीहरूको साधनअनुसार दिएर पूरा गरेको कारणले सुहाउँदो होस्। 12 किनकि यदि इच्छा छ भने मानिससँग नभएअनुसार होइन, तर ऊसँग भएअनुसारको दान ग्रहणयोग्य हुन्छ।

13 अरूलाई भार नहोस् तर तिमीहरूलाई भार होस् भन्‍ने हाम्रो इच्छा होइन; 14 वर्तमान समयमा तिमीहरूको प्रशस्तताबाट तिनीहरूको खाँचो टरोस्, ताकि बदलामा तिमीहरूको खाँचो पनि तिनीहरूको प्रशस्तताबाट टरोस्। यसरी लक्ष्यमा समानता हुन्छ, 15 जसरी धर्मशास्त्रमा लेखिएको छ, "धेरै बटुल्नेको ज्यादा भएन, र थोरै बटुल्नेको पनि कम्ती भएन।"

तीतस कोरिन्थमा पठाइएका

16 परमेश्‍वरलाई धन्यवाद होस्, तिमीहरूप्रति मेरो जुन वास्ता थियो, त्यो उहाँले तीतसको हृदयमा हालिदिनुभयो। 17 किनकि तीतसले हाम्रो बिन्ती सुनेको मात्र होइन, तर तिनी आफैँ पनि खूबै उत्साहसाथ तिमीहरूकहाँ आइरहेका छन्। 18 अनि हामी तिनीसित त्यस भाइलाई पठाउँदैछौँ, जसलाई सबै मण्डलीहरूले उनको सुसमाचारप्रतिको सेवाको प्रशंसा गर्दछन्। 19 यति मात्र होइन, तर हामीले भेटी लिएर जाँदा उनी हामीसित जाऊन् भनी मण्डलीहरूले उनलाई नियुक्त गरेका छन् जुन हामीले प्रभुको सम्मान गर्न र हाम्रो सहायता दिने उत्सुकतालाई प्रकट गरेका छौँ। 20 यस उदारपूर्ण दानलाई हामी कसरी चलाउँछौँ, यसबारे हामी कुनै आलोचना सुन्‍न चाहँदैनौँ। 21 किनकि परमेश्‍वरको नजरमा मात्र होइन, तर मानिसहरूको नजरमा पनि आदरणीय काम गर्न हामीले कष्‍ट उठाइरहेका छौँ।

22 यसबाहेक हामी तिनीहरूसित हाम्रा अर्को भाइलाई पठाउँदैछौँ, जसले उनी जोशिला छन् भन्‍ने धेरै किसिमले हामीलाई प्रमाणित गरिसकेका छन्; अनि अझ बढी तिमीहरूप्रति उनको ठूलो भरोसा छ। 23 तीतसको विषयमा, तिमीहरूबीच तिनी मेरा साझेदार र सहकर्मी हुन्, हाम्रा भाइहरूको विषयमा, तिनीहरू मण्डलीहरूका प्रतिनिधिहरू र ख्रीष्‍टको निम्ति सम्मान हुन्। 24 यसकारण यी मानिसहरूलाई तिमीहरूको प्रेमको प्रमाण र तिमीहरूलाई हामीले गर्व गर्ने कारण देखाइदेओ, ताकि मण्डलीहरूले यो देख्न सकून्।

Veja também

Publicidade
2 Coríntios
Ver todos os capítulos de 2 Coríntios
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_06-50-08-