Publicidade

2 Timóteo 4

1 परमेश्‍वरको र जिउँदा तथा मरेकाहरूका न्याय गर्नुहुने ख्रीष्‍ट येशूको उपस्थितिमा, अनि उहाँको पुनरागमन र उहाँको राज्यलाई ध्यानमा राखेर म तिमीलाई यो आदेश दिन्छु: 2 वचन प्रचार गर, समय र बेसमयमा तयार भइबस, असीम धैर्यता र होसियारपूर्ण शिक्षासहित सुधार गर्दै हप्काऊ, हौसला देऊ। 3 किनकि यस्तो समय आउनेछ, जब मानिसहरू साँचो शिक्षालाई नसहने हुनेछन्; यसको सट्टा तिनीहरूले आफ्नै इच्छा पूरा गर्नलाई आफ्ना निम्ति शिक्षकहरू थुपार्नेछन्; जसले तिनीहरूका चिलाउने कानले सुन्‍न चाहेका कुराहरू भन्‍नेछन्। 4 तिनीहरूले आफ्ना कानहरू सत्यताबाट फर्काएर दन्त्यकथाहरूतिर लगाउनेछन्। 5 तर तिमीचाहिँ हरेक अवस्थामा आत्मसंयम होऊ, कष्‍ट भोग, प्रचारकको काम गर, र आफ्नो सेवाका सबै कामहरू पूरा गर।

6 किनकि म अर्घबलिझैँ चढाइन लागेको छु, र मेरो बिदाको बेला आइसकेको छ। 7 मैले उत्तम लडाइँ लडेको छु, मैले आफ्नो दौड सिद्ध्याएको छु, र मैले विश्‍वासलाई जोगाइराखेको छु। 8 अब मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, जुन मुकुट धार्मिक न्यायकर्ता प्रभुले मलाई त्यस दिन दिनुहुनेछ, मलाई मात्र होइन, तर उहाँको दोस्रो आगमनको प्रतीक्षा गरिरहने सबैलाई पनि दिनुहुनेछ।

व्यक्तिगत कुराहरू

9 मकहाँ चाँडै आउने भरमग्दूर प्रयत्न गर; 10 किनकि डेमासले यस संसारलाई प्रेम गरेर मलाई त्यागिदिएको छ, र ऊ थेसलोनिकीमा गएको छ। क्रेसेन्स गलातियामा र तीतस दलमातिया गएका छन्। 11 अहिले लूका मात्र मसँग छन्। मर्कूसलाई भेट र तिमीसँगै लिएर आऊ; किनकि तिनी मेरो सेवाको निम्ति मलाई उपयोगी छन्। 12 मैले तुखिकसलाई एफिससमा पठाएँ। 13 तिमी आउँदा त्रोआसमा मैले कार्पससित छाडेका खास्टो र पुस्तकहरू खासगरी चर्मपत्रहरू लिएर आऊ।

14 तामाको काम गर्ने अलेक्जेन्डरले मलाई धेरै हानि पुर्‍याएको छ। त्यसले गरेको कामको बदला परमेश्‍वरले नै लिनुहुनेछ। 15 त्यसले हाम्रा सन्देशहरूको घोर विरोध गरेको हुनाले तिमी पनि ऊदेखि होसियार बस।

16 जब मलाई पहिलो पटक न्यायाधीशकहाँ ल्याइयो, कसैले मेरो पक्ष लिएनन्, तर हरेकले मलाई त्यागिदिए। यसको दोष तिनीहरूलाई नलागोस्। 17 तर प्रभुले मेरो पक्ष लिएर मलाई शक्ति दिनुभयो, ताकि मद्वारा सुसमाचार पूर्ण रूपले घोषणा गरिएको होस् र सारा गैरयहूदीहरूले ती सुन्‍न सकून्। मलाई सिंहको मुखबाट छुटकारा मिल्यो। 18 प्रभुले मलाई हरेक दुष्‍ट आक्रमणबाट छुटकारा दिनुहुनेछ र मलाई सुरक्षासाथ उहाँको स्वर्गीय राज्यमा ल्याउनुहुनेछ। उहाँलाई नै सदासर्वदा महिमा भइरहोस्! आमेन।

अन्तिम अभिवादन

19 प्रिस्किला, अक्विला अनि ओनेसिफरसको परिवारलाई अभिवादन भनिदेऊ।

20 इरास्तस कोरिन्थमा नै बसे; अनि मैले त्रोफिमसलाई मिलेटसमा बिरामी अवस्थामा नै छोडेँ। 21 हिउँदको समयभन्दा पहिल्यै नै तिमी यहाँ आउने भरसक प्रयत्न गर।

युबुलस, पुडेस, लिनस, क्लौडिया र सबै दाजुभाइ-दिदीबहिनीहरूले तिमीलाई अभिवादन पठाएका छन्।

22 प्रभु तिम्रो आत्मासँग रहून्! तिमीहरूसँग अनुग्रह रहोस्!

Veja também

Publicidade
2 Timóteo
Ver todos os capítulos de 2 Timóteo
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_06-50-08-