अधर्मी मानिस
1 हे दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा प्रभु येशू ख्रीष्टको आगमन र हामी उहाँसँग भेला हुने विषयमा तिमीहरूलाई बिन्ती गर्दछौँ। 2 प्रभुको दिन आइसकेको छ भन्नेहरूद्वारा सजिलैसित अस्थिर वा विचलित नहोओ। तिनीहरूले अगमवाणी, आत्माद्वारा प्रकाश पाएको, अथवा हामीबाटै आएको पत्र भनी दाबी गरे तापनि तिनीहरूलाई विश्वास नगर। 3 तिमीहरूलाई कसैले कुनै किसिमले धोकामा नपारोस्। विश्वास परित्याग नभएसम्म पापको मानिस, जो विनाशको पुत्र हो, त्यो प्रकट नभएसम्म त्यो दिन आउनेछैन। 4 त्यसले ईश्वर कहलिएको वा पूजा गरिने हरेक वस्तुभन्दा आफैँलाई उच्च पार्नेछ र विरोध गर्नेछ; अनि परमेश्वर हुँ भनी घोषणा गर्दै त्यो आफैँलाई परमेश्वरको मन्दिरमा स्थापना गर्नेछ।