Publicidade

Oséias 10

1 इस्राएल एउटा लहलहाउँदो दाखको बोट थियो;

त्यसले आफ्नै निम्ति प्रशस्त फल फलायो।

जब त्यसको प्रशस्त फलहरू बढ्दैगयो,

तब त्यसले धेरै वेदीहरू बनायो;

जब त्यसको देशको समृद्धि भयो,

तब त्यसले आफ्नो पवित्र ढुङ्गाहरूलाई सिँगार्‍यो।

2 तिनीहरूको हृदय छली छ;

अब तिनीहरूले आफ्नो दोषको दण्ड पाउनैपर्छ।

याहवेहले तिनीहरूका वेदीहरू भत्काउनुहुनेछ;

अनि तिनीहरूले पवित्र मानिएका ढुङ्गाहरूलाई नष्‍ट पार्नुहुनेछ।

3 तब तिनीहरूले भन्‍नेछन्, "हामीले याहवेहलाई

आदर गरेनौँ; यसकारण हामीसित राजा छैनन्।

तर यदि हामीसित राजा भए तापनि

तिनले हाम्रा निम्ति के गर्न सक्थे र?"

4 तिनीहरूले धेरै प्रतिज्ञाहरू गर्छन्,

झूटो शपथ खान्छन्

र सहमति जनाउँछन्;

त्यसैले जोतिएको जमिनमा उम्रेका

विषालु झारहरूझैँ अन्याय मौलाउँछ।

5 सामरियामा बसोबास गर्ने मानिसहरू

बेथ-आवेनको सुनको बाछाको मूर्तिसँग डराउँछन्।

र मूर्तिपूजक पुजारीहरूले पनि त्यसै गर्नेछन्;

तिनीहरू जसले मूर्तिको गौरवमा आनन्द मनाएका थिए;

त्यसका मानिसहरू त्यसको निम्ति विलाप गर्नेछन्;

किनकि देशबाट मूर्ति निकालेर कैदमा लगिएको छ।

6 त्यसलाई महान् राजाको निम्ति

सौगातको रूपमा अश्शूर देशमा लगिनेछ।

एफ्राइम अपमानित हुनेछ;

इस्राएल आफ्ना पराई देवताको कारण लज्जित हुनेछ।

7 सामरियाको राजा नष्‍ट हुनेछ,

त्यो पानीले बगाएको काठको टुक्राझैँ बगेर जानेछ।

8 दुष्‍टताका अग्ला-अग्ला डाँडाहरू नष्‍ट पारिनेछन्;

यो इस्राएलको पाप हो।

काँडा र सिउँडीहरू बढ्नेछन्,

र तिनीहरूका वेदीहरूलाई ढाक्नेछन्।

त्यसपछि तिनीहरूले पर्वतहरूलाई भन्‍नेछन्, "हामीलाई छोप!"

र पहाडहरूलाई भन्‍नेछन्, "हामीमाथि खस!"

9 "हे इस्राएल, तिमीहरूले गेबाको दिनदेखि नै पाप गरेका छौ,

र तिमीहरू त्यही पापमा छौ।

के गेबामा भएका दुष्‍ट काम गर्ने मानिसहरू

फेरि युद्धमा पर्दैनन् र?

10 म आफ्नो इच्छाअनुसार तिनीहरूलाई दण्ड दिनेछु;

तिनीहरूलाई आफ्ना दोबर पापको निम्ति बन्धनमा पार्नलाई

तिनीहरूको विरुद्धमा राष्ट्रहरू भेला हुनेछन्।

11 एफ्राइम दाइँ गर्न रुचाउने

तालिमद्वारा सधाइएकी कोरली हो;

यसकारण म त्यसको सुन्दर काँधमाथि

गह्रौँ जुवा हालिदिनेछु।

म एफ्राइमलाई धपाउनेछु,

यहूदाले चाहिँ जोत्नुपर्छ

र याकोबले जमिन फुटाउनुपर्नेछ।

12 आफ्नो निम्ति धार्मिकताको बिउ छर!

अचुक प्रेमको फसलको कटनी गर!

र तिमीहरूका नजोतिएका जमिनलाई जोत;

किनकि याहवेहलाई खोज्ने समय अहिले नै हो;

अनि उहाँ आउनुहुन्छ

र तिमीहरूमाथि धार्मिकता बर्साउनुहुन्छ।

13 तर तिमीहरूले दुष्‍टता रोपेका छौ,

र तिमीहरूले पापको कटनी गरेका छौ;

तिमीहरूले छलको फल खाएका छौ।

अनि तिमीहरूले आफ्नै सामर्थ्य

र आफ्ना योद्धाहरूको संख्यामा भरोसा राखेको कारण

14 तिमीहरूका मानिसहरूको विरुद्धमा लडाइँका गर्जनहरू उठ्नेछन्;

युद्धको दिनमा शल्मनले बेथ-आर्बेललाई नाश गरेझैँ

तिमीहरूका सबै बलिया किल्‍लाहरू नष्‍ट हुनेछन्;

जुन समयमा आमाहरू आफ्ना छोराछोरीहरूसँगै

भुइँमा पछारिएर टुक्रा-टुक्रा पारिएका थिए।

15 हे बेथेल, तँमाथि पनि त्यस्तै हुनेछ;

किनकि तेरो दुष्‍टता धेरै छ।

त्यो दिन आएपछि,

इस्राएलको राजा पूर्ण रूपमा सर्वनाश हुनेछ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-