Publicidade

Oséias 4

इस्राएलको विरुद्धमा आरोप

1 हे इस्राएलका मानिसहरू हो, याहवेहको वचन सुन,

देशमा बस्‍नेहरूको विरुद्धमा

याहवेहले दोष लगाउनुभएको छ:

"यस देशमा विश्‍वासयोग्यता छैन, न त प्रेम नै छ;

परमेश्‍वरलाई स्वीकार गर्ने कोही पनि छैन।

2 यहाँ श्राप, झूट र हत्या,

चोरी र व्यभिचार मात्र छन्;

तिनीहरूले सबै सीमाहरू नाघेका छन्;

अनि रक्तपातमाथि रक्तपात गर्दछन्।

3 यसकारण देश उजाड भएको छ;

अनि देशमा बस्‍ने सबै मानिसहरू नष्‍ट भएका छन्;

जङ्गली जनावरहरू, आकाशमा उड्ने चराचुरुङ्गीहरू

र समुद्रका माछाहरू समेत नष्‍ट भएका छन्।

4 "तर कुनै पनि मानिसले आरोप नलगाओस्,

न त कुनै मानिसले एक-अर्कालाई दोष लगाओस्;

किनकि तिमीहरूका मानिसहरू

पुजारीको विरुद्धमा दोष लगाउनेहरूजस्ता छन्।

5 तिमीहरू दिनरात ठक्‍कर खान्छौ;

अनि अगमवक्ताहरू पनि तिमीहरूसँगै ठक्‍कर खान्छन्।

यसकारण म तिमीहरूकी आमालाई नाश गर्नेछु—

6 मेरा मानिसहरू ज्ञानको अभावले नष्‍ट भएका छन्।

"तिमीहरूले ज्ञानलाई इन्कार गरेको कारण,

म पनि तिमीहरूलाई मेरो पुजारी हुनलाई इन्कार गर्नेछु;

किनभने तिमीहरूले आफ्ना परमेश्‍वरको आज्ञालाई वास्ता गरेका छैनौ;

तसर्थ म पनि तिमीहरूका छोराछोरीहरूलाई वास्ता गर्नेछैनँ।

7 जति धेरै पुजारीहरू भए,

तिनीहरूले त्यत्ति नै मेरो विरुद्धमा धेरै पाप गरे;

तिनीहरूले आफ्ना महिमित परमेश्‍वरलाई घृणित कुराहरूसँग साटे।

8 तिनीहरू मेरा मानिसहरूका पापद्वारा पोसिन्छन्,

र तिनीहरूका दुष्‍टताको स्वाद लिन्छन्।

9 अनि यस्तो हुनेछ: जस्ता प्रजाहरू छन्, त्यस्तै पुजारीहरू हुनेछन्।

म ती दुवैलाई तिनीहरूको खराब चालचलनको निम्ति दण्ड दिनेछु,

र तिनीहरूका कामहरूको प्रतिफल तिनीहरूलाई दिनेछु।

10 "तिनीहरूले खानेछन्, तर सन्तुष्‍टि हुनेछैनन्;

तिनीहरू वेश्यावृत्तिमा संलग्न हुनेछन्, तर तृप्‍त हुनेछैनन्;

तिनीहरू वेश्यावृत्तिमा सामेल हुनका लागि

तिनीहरूले 11 याहवेहलाई त्यागेका छन्;

पुरानो दाखमद्य र नयाँ दाखमद्यले

मेरा प्रजाको समझशक्ति नष्‍ट पारिदिन्छ।

12 मेरा मानिसहरूले काठको मूर्तिसित सल्‍लाह लिन्छन्,

र तिनीहरूका जोखना हेर्नेले काठको लहुरोसँग कुराकानी गर्छन्।

वेश्यावृत्तिको आत्माले तिनीहरूलाई बहकाउँछ;

तिनीहरू आफ्ना परमेश्‍वरप्रति अविश्‍वासयोग्य छन्।

13 तिनीहरूले पर्वतका टाकुराहरूमा बलिदान चढाउँछन्;

अनि डाँडाहरूमा होमबलिहरू चढाउँछन्;

तिनीहरूले राम्रो छाया भएको ठाउँ, झ्याम्म परेका फलाँट, लहरे-पीपल

र तारपीनको रूखमुनि बलिदान चढाउँछन्।

यसकारण तिमीहरूका छोरीहरू वेश्यावृत्तिमा

र तिमीहरूका बुहारीहरू व्यभिचारमा लागेका छन्।

14 "जब तिमीहरूका छोरीहरूले वेश्यावृत्ति गर्छन्,

म तिमीहरूका छोरीहरूलाई दण्ड दिनेछैनँ;

न त तिमीहरूका बुहारीहरूलाई नै दण्ड दिनेछु;

जसले व्यभिचार गर्छन्;

किनकि पुरुषहरू आफैँ वेश्याहरूतिर लागेका छन्,

र देवदासीहरूसँग बलिदान चढाउँछन्—

समझशक्ति नभएका मानिसहरू नष्‍ट हुनेछन्!

15 "हे इस्राएल, तैँले व्यभिचार गरे तापनि

यहूदाचाहिँ दोषी नठहरिओस्।

"तिमीहरू गिलगालमा नजाओ;

न त बेथ-आवेनमा उक्लेर जाओ।

न त ‘जीवित याहवेहको नाममा,’ शपथ खाओ!

16 इस्राएलका मानिसहरू हठी छन्;

ढीट कोरलीझैँ छन्।

तब कसरी याहवेहले तिनीहरूलाई चरनमा

थुमालाई चराएजस्तै चराउन सक्नुहुनेछ त?

17 एफ्राइम मूर्तिसँग जोडिएको छ;

त्यसलाई आफ्नै चालमा छोडिदेओ!

18 तिनीहरूको मद्य सकिए तापनि

तिनीहरू वेश्यावृत्तिमा निरन्तर लागिरहन्छन्;

तिनीहरूका शासकहरू लाजलाग्दो मार्गलाई अति मन पराउँछन्।

19 आँधीबेहरीले तिनीहरूलाई उडाएर लैजानेछ;

अनि तिनीहरूका बलिदानहरूले तिनीहरूलाई लाजमा पार्नेछ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-