Publicidade

Oséias 2

1 "आफ्ना दाजुभाइहरूलाई ‘अम्मी’ र दिदीबहिनीहरूलाई ‘रूहामा’ भन्।

इस्राएलको दण्ड र पुनर्स्थापना

2 "आफ्नी आमालाई हप्काओ, त्यसलाई हप्काओ;

किनकि त्यो मेरी पत्नी होइनँ,

र म पनि त्यसको पति होइनँ।

त्यसले आफ्नो अनुहारबाट व्यभिचारको रूप

र आफ्नो स्तनको बीचबाट विश्‍वासघातलाई हटाओस्।

3 नत्रता म त्यसलाई वस्त्रहीन पार्नेछु,

र त्यसलाई जन्मेको दिनमा जस्तै नाङ्गै पार्नेछु;

म त्यसलाई मरुभूमिजस्तै बनाइदिनेछु;

त्यसलाई सुक्खा भूमिमा परिणत गरिदिनेछु,

र त्यसलाई तिर्खाले मार्नेछु।

4 म त्यसका कुनै छोराछोरीहरूलाई दया देखाउनेछैनँ;

किनकि तिनीहरू व्यभिचारबाट जन्मिएका सन्तान हुन्।

5 तिनीहरूकी आमाले विश्‍वासघात गरेकी छे,

र तिनीहरूलाई कलङ्कित अवस्थामा गर्भधारण गरेकी छे।

त्यसले भनी, ‘म मेरा प्रेमीहरूको पछि जानेछु,

जसले मलाई मेरो भोजन, पानी,

ऊन, सुती कपडा, तेल र दाखरस दिन्छन्।’

6 यसकारण म त्यसको बाटो काँडाघारीले बन्द गरिदिनेछु;

त्यसले कुनै पनि बाटो नपाओस् भनेर म त्यसलाई पर्खालले बन्द गरिदिनेछु।

7 त्यो आफ्ना प्रेमीहरूलाई पछ्याउँदै जानेछे,

तर त्यसले तिनीहरूलाई भेट्टाउन सक्दिन;

त्यसले प्रेमीहरूलाई खोज्नेछे, तर तिनीहरूलाई भेट्टाउनेछैन।

तब त्यसले भन्‍नेछे,

"म पहिलेझैँ मेरो पतिकहाँ फर्केर जानेछु;

किनकि अहिलेभन्दा त पहिलाको अवस्था नै राम्रो थियो।"

8 त्यसले बुझेकै छैन,

त्यसलाई अन्‍न, नयाँ दाखरस र जैतुन तेल दिने म नै हुँ;

मैले त्यसलाई प्रशस्त सुन र चाँदी दिएँ,

तर त्यसले त्यो बाल-देवताको निम्ति प्रयोग गरी।

9 "यसकारण जब मेरो अन्‍न पाक्छ,

र मेरो नयाँ दाखरस तयार हुन्छ, तब म लैजानेछु।

त्यसको नग्नता ढाक्नलाई तयार गरिएको

मेरो ऊन र मेरो सुती कपडा म खोसेर लैजानेछु।

10 यसकारण अब म त्यसका प्रेमीहरूका आँखाको सामु

त्यसलाई नाङ्गो पारिदिनेछु;

कसैले त्यसलाई मेरो हातबाट छुटाउन सक्नेछैन।

11 म त्यसका सबै उत्सवहरू:

त्यसका वार्षिक चाडहरू, त्यसका औँसीहरू,

त्यसका शब्बाथ दिनहरू; अनि त्यसका सबै तोकिएका चाडहरूको अन्त गर्नेछु।

12 म त्यसका दाखहरू र नेभाराका बोटहरू नष्‍ट गरिदिनेछु,

जुन त्यसले आफ्ना प्रेमीहरूको सेवा गरेर मैले ज्याला पाएकी हुँ भनेकी छे;

म तिनीहरूलाई बाक्लो झाडी बनाइदिनेछु,

र जङ्गली जनावरहरूले ती खानेछन्।

13 बाल-देवताहरूका निम्ति धूप बालेका हुनाले

म त्यसलाई दण्ड दिनेछु;

त्यसले आफूलाई गरगहनाहरूले सिँगारी,

र आफ्ना प्रेमीहरूको पछि लागी,

तर त्यसले मलाई बिर्सी, याहवेह घोषणा गर्नुहुन्छ।

14 "यसकारण अब म त्यसलाई लोभ्याउन लागेको छु;

म त्यसलाई उजाडस्थानमा डोर्‍याउनेछु,

र त्यससँग मायालु कुरा गर्नेछु।

15 त्यहाँ म त्यसलाई त्यसका दाखबारीहरू फर्काइदिनेछु,

र आकोरको बेँसीलाई एउटा आशाको ढोका बनाइदिनेछु।

त्यहाँ त्यसले आफ्नो जवानीको दिनमा झैँ,

इजिप्टबाट निस्किआएको दिनमा झैँ गाउनेछे।"

16 याहवेह घोषणा गर्नुहुन्छ,

"त्यस दिन तैँले मलाई ‘मेरो मालिक’;

भन्‍न छोडेर ‘मेरा पति’ भन्‍नेछस्।

17 म त्यसको मुखबाट बाल-देवताहरूका नाम हटाइदिनेछु;

तिनीहरूका नामको उच्‍चारण फेरि कहिल्यै पनि हुनेछैन।

18 त्यस दिन म तिनीहरूका निम्ति जङ्गलका जनावरहरू,

आकाशका चराचुरुङ्गीहरू

र जमिनमा हलचल गर्ने पशुप्राणीहरूसँग करार बाँध्नेछु।

म देशबाट धनु, तरवार

र युद्ध हटाइदिनेछु,

ताकि सबै जना सुरक्षित भएर विश्राम लिन सकून्।

19 म तँलाई सदाका निम्ति पत्नी तुल्याउनेछु;

म तँलाई धार्मिकतामा र न्यायमा,

प्रेममा र दयामा दुलही बनाउनेछु।

20 म तँलाई विश्‍वासयोग्यतामा दुलही बनाउनेछु;

अनि तैँले याहवेहलाई चिन्‍नेछस्।"

21 याहवेह घोषणा गर्नुहुन्छ,

"त्यस दिन म जवाफ दिनेछु,

म आकाशलाई जवाफ दिनेछु,

र आकाशले पृथ्वीलाई जवाफ दिनेछ;

22 अनि पृथ्वीले अन्‍नलाई;

नयाँ दाखरस र जैतुन तेललाई जवाफ दिनेछ,

र तिनीहरूले यिजरेललाई जवाफ दिनेछन्।

23 म त्यसलाई आफ्नै निम्ति त्यस देशमा रोप्नेछु;

मैले जसलाई ‘मेरो प्रिय होइनँ’ भनेको थिएँ, त्यसलाई प्रेम देखाउनेछु।

मैले जसलाई ‘मेरो जाति होइनँ,’ भनेको थिएँ,

त्यसलाई ‘तिमीहरू मेरा जाति हौ,’ भन्‍नेछु;

अनि तिनीहरूले भन्‍नेछन्, ‘तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ।’ "

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-