Publicidade

Oséias 13

इस्राएलको विरुद्धमा याहवेहको रिस

1 जब एफ्राइम बोल्थ्यो, मानिसहरू काम्थे;

त्यो इस्राएलमा उच्‍च पारियो।

तर त्यो बाल-देवताको दोषी ठहरियो र मर्‍यो।

2 अहिले तिनीहरूले अझ बढी पाप गरिरहेका छन्;

तिनीहरूले आफ्ना चाँदीबाट आफ्नै निम्ति मूर्तिहरू बनाउँछन्,

अर्थात् निपुणतासाथ बनाइएका मूर्तिहरू,

ती सबै मूर्तिहरू कारिगरहरूका काम हुन्।

यी मानिसहरूको विषयमा यसो भनिएको छ,

"तिनीहरूले मानवबलि चढाउँछन्!

अनि बाछाको मूर्तिहरूलाई चुम्बन गर्छन्।"

3 यसकारण तिनीहरू बिहानको कुइरोझैँ,

बिहान सबेरै बिलाउने तुसारोझैँ,

खलाबाट उडिजाने भुसझैँ,

चिम्नीबाट निस्केको धुवाँझैँ हुनेछन्।

4 "तर तिमीहरू इजिप्टबाट निस्केर आएको समयदेखि नै,

म याहवेह तिमीहरूका परमेश्‍वर हुँ;

अनि तिमीहरूले मबाहेक अरू कसैलाई पनि परमेश्‍वर भनी स्वीकार नगर्नू,

मबाहेक अर्को कोही पनि मुक्तिदाता छँदैछैन।

5 मैले तिमीहरूलाई उजाडस्थानमा

चर्को गर्मीको ठाउँमा हेरचाह गरेँ।

6 जब मैले तिनीहरूलाई खुवाएँ, तिनीहरू सन्तुष्‍ट भए;

तर जब तिनीहरू सन्तुष्‍ट भए, त्यसपछि तिनीहरू झन् घमण्डी भए;

अनि तिनीहरूले मलाई बिर्से।

7 यसकारण म तिनीहरूमाथि सिंहजस्तै झम्टिनेछु;

म चितुवाझैँ तिनीहरूका बाटोमा ढुकिबस्‍नेछु।

8 आफ्नो बच्‍चा खोसिएकी भालुजस्तै,

म तिनीहरूलाई आक्रमण गर्नेछु, र तिनीहरूलाई च्यातचुत पार्नेछु;

बाघले जस्तै म तिनीहरूलाई निल्नेछु,

जङ्गली जनावरले जस्तै तिनीहरूलाई फहराउनेछु।

9 "हे इस्राएल, तँ सर्वनाश भएको छस्;

किनकि तँ मेरो विरुद्धमा, तेरो सहयोगीको विरुद्धमा छस्।

10 तिमीहरूको राजा कहाँ छ, जसले तिमीहरूलाई बचाउन सकोस्?

तिमीहरूका सबै सहरहरूका शासकहरू कहाँ छन्?

जसको बारेमा तिमीहरूले भन्थ्यौ,

‘मलाई एउटा राजा र राजकुमारहरू दिनुहोस्।’

11 यसकारण मैले मेरो रिसमा तिमीहरूलाई राजा दिएँ;

अनि मेरो क्रोधमा मैले त्यसलाई टाढा पठाएँ।

12 एफ्राइमका दोषहरूलाई भण्डारण गरिएको छ;

त्यसका पापहरूको हिसाब राखिएको छ।

13 स्त्रीको प्रसव वेदनाजस्तै त्यसमाथि दुःख आउनेछ,

तर त्यो त बुद्धिविनाको बालक हो;

जन्मने समय हुँदा पनि त्यसमा

गर्भको मुखबाट बाहिर आउने समझ त्यसमा हुँदैन।"

14 म तिनीहरूलाई चिहानको शक्तिबाट मोल तिरेर छुटाउनेछु;

म तिनीहरूलाई मृत्युबाट छुटकारा दिनेछु।

हे मृत्यु, तेरा विपत्तिहरू कहाँ छन्?

हे चिहान, तेरो विनाश कहाँ छ?

"म अलिकति पनि दया देखाउनेछैनँ;

15 यदि त्यो आफ्ना दाजुभाइहरूको बीचमा फलदायी भए तापनि

म त्यसप्रति दयालु बन्‍नेछैनँ।

पूर्वीय बतास याहवेहबाट आउनेछ,

र त्यसलाई उजाडस्थानबाट उडाएर लैजानेछ;

त्यसको पानीको मूल बन्द हुनेछ,

र त्यसको पानीको कुवा सुक्नेछ।

त्यसको भण्डारबाट त्यसका सबै

बहुमूल्य कुराहरू लुटिनेछन्।

16 सामरियाका मानिसहरूले तिनीहरूका अपराधको प्रतिफल भोग्नुपर्छ;

किनकि तिनीहरूले आफ्ना परमेश्‍वरको विरुद्धमा विद्रोह गरेका छन्।

तिनीहरू तरवारद्वारा मारिनेछन्;

तिनीहरूका साना छोराछोरीहरू भुइँमा पछारिनेछन्;

तिनीहरूका गर्भवती स्त्रीहरूका पेट चिरेर उदाङ्गो पारिनेछन्।"

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_06-50-08-