Publicidade

Oséias 11

इस्राएलको निम्ति परमेश्‍वरको प्रेम

1 "इस्राएल बालक छँदा, मैले त्यसलाई प्रेम गरेँ,

मैले आफ्नो पुत्रलाई इजिप्टबाट बोलाएँ।

2 तर मैले इस्राएललाई जति धेरै बोलाएँ,

तिनीहरू मदेखि उति नै धेरै टाढा गए।

तिनीहरूले बाल-देवताहरूलाई बलिदान चढाए,

र तिनीहरूले मूर्तिहरूलाई धूप बाले।

3 एफ्राइमलाई आफ्नो अँगालोमा राखेर,

तिनीहरूलाई हिँड्न सिकाउने म नै हुँ;

तर तिनीहरूले जानेनन्,

कि मैले नै तिनीहरूलाई निको पारेको हुँ।

4 मैले तिनीहरूलाई मानवीय प्रेम

र दयाको डोरीले बाँधेर डोर्‍याएँ;

मैले तिनीहरूलाई एउटा सानो बालकलाई जस्तै

मायाले उठाएर आफ्नो गालामा टसाएँ

र तिनीहरूलाई खुवाउन म निहुरेँ।

5 "तिनीहरूले पश्‍चात्ताप गर्न अस्वीकार गरेको कारण

के तिनीहरू इजिप्टमा फर्कनेछैनन्

र अश्शूरले तिनीहरूमाथि शासन गर्नेछैन र?

6 तिनीहरूका सहरहरूमा तरवार घुम्‍नेछ;

तिनीहरूका झूटा अगमवक्ताहरू मारिनेछन्,

र तिनीहरूका योजनाहरूको अन्त्य गरिदिनेछन्।

7 मेरा मानिसहरूले मबाट तर्किएर जाने निश्‍चय गरेका छन्।

तिनीहरूले मलाई सर्वोच्‍च परमेश्‍वर भनी पुकारे तापनि

म कुनै पनि हालतमा तिनीहरूलाई उचाल्ने छैन।

8 "हे एफ्राइम, म तँलाई कसरी त्याग्न सक्छु?

हे इस्राएल, म तँलाई कसरी शत्रुको हातमा सुम्पिदिन सक्छु?

म तँलाई कसरी अदमा सहरलाई झैँ व्यवहार गर्न सक्छु?

म तँलाई कसरी सबोयीम सहरझैँ बनाउन सक्छु?

मेरो हृदय मभित्र बदलिएको छ;

मेरो मनमा दया जागेको छ।

9 म मेरो भयानक क्रोध पोख्नेछैनँ;

म एफ्राइमलाई फेरि सर्वनाश गर्नेछैनँ।

किनकि म त परमेश्‍वर हुँ, मानिस होइनँ;

तिमीहरूका बीचमा रहने पवित्र परमेश्‍वर हुँ।

म तिनीहरूका सहरहरूको विरुद्धमा क्रोधित भएर आउनेछैनँ।

10 तिनीहरूले याहवेहलाई पछ्याउनेछन्;

उहाँ सिंहजस्तै गर्जनुहुनेछ।

जब उहाँ गर्जनुहुन्छ, तब उहाँका छोराछोरीहरू

काम्दै पश्‍चिमबाट आउनेछन्।

11 तिनीहरू इजिप्टबाट आउनेछन्,

भँगेराहरूझैँ काँप्दै आउनेछन्,

र अश्शूरबाट ढुकुरहरूझैँ फटफटाउँदै आउनेछन्।

म तिनीहरूलाई तिनीहरूका घरहरूमा बसाल्नेछु,"

याहवेह घोषणा गर्नुहुन्छ।

इस्राएलको पाप

12 एफ्राइमले मलाई झूटले,

र इस्राएलले मलाई छलले घेरेको छ।

यहूदाले अझै परमेश्‍वरको विरुद्धमा,

विश्‍वासयोग्य पवित्र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्छ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-