Publicidade

Atos 1

येशू स्वर्गमा उठाइलगिनुभएको

1 प्रिय थियोफिलस, मैले मेरो पहिलो पुस्तकमा येशूले गर्न र सिकाउन थाल्नुभएका सबै कुराका बारेमा लेखेको छु। 2 उहाँले चुन्‍नुभएका प्रेरितहरूलाई पवित्र आत्माद्वारा आज्ञा दिनुभएको दिनदेखि उहाँ स्वर्गमा उठाएर लगिनुभएको दिनसम्मको वृत्तान्त मैले मेरो त्यसै पुस्तकमा वर्णन गरिसकेको छु। 3 आफूले दुःख सहनुभएपछि, उहाँ ती मानिसहरूका सामु प्रकट हुनुभयो र आफू जीवित हुनुभएको विश्‍वासलाग्दा धेरै प्रमाणहरू तिनीहरूलाई दिनुभयो। तिनीहरूका सामु उहाँ चालीस दिनसम्म देखा परिरहनुभयो र परमेश्‍वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो। 4 तिनीहरूसँगै भोजन गरिरहेको बेला एकपल्ट तिनीहरूलाई उहाँले यस्तो आज्ञा दिनुभयो: "मैले तिमीहरूलाई भनेका मेरा पिताको प्रतिज्ञाको वरदानलाई पर्खेर बस्‍नू। त्यो प्राप्‍त नभएसम्म यरूशलेमलाई नछोड्नू। 5 किनकि यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए, तर केही दिनमा तिमीहरूले पवित्र आत्माले बप्‍तिस्मा पाउनेछौ।"

6 तब तिनीहरू उहाँको वरिपरि भेला भए र उहाँलाई सोधे, "हे प्रभु, के तपाईंले यसै समयमा इस्राएलको राज्य पुनर्स्थापना गराउनुहुन्छ?"

7 उहाँले तिनीहरूलाई भन्‍नुभयो: "पिताले आफ्नो अधिकारद्वारा तोक्नुभएको समय वा मिति जान्‍ने काम तिमीहरूको होइन। 8 तर पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ; र तिमीहरू यरूशलेममा, सम्पूर्ण यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म नै मेरा साक्षी हुनेछौ।"

9 उहाँले यति भनिसक्नुभएपछि तिनीहरूका आँखाकै सामु उहाँ माथि स्वर्गमा लगिनुभयो। अनि तिनीहरूको दृष्‍टिबाट उहाँ बादलभित्र लोप हुनुभयो।

10 उहाँ आकाशतिर माथि जाँदै गर्नुहुँदा तिनीहरू एक टकले हेरिरहेका थिए, तब त्यसै बेला अकस्मात् सेता पोशाकमा दुई जना मानिस तिनीहरूका नजिक प्रकट भए। 11 तिनीहरूले भने, "हे गालीलका मानिसहरू हो, आकाशतिर हेर्दै तिमीहरू किन उभिरहेका छौ? तिमीहरूका बीचबाट स्वर्ग लगिइनुभएको यही येशू, जसरी अहिले स्वर्ग जानुभएको तिमीहरूले देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ।"

यहूदाको साटो मतियासको छनौट

12 त्यसपछि प्रेरितहरू जैतुनको पहाड भनिने डाँडाबाट यरूशलेम फर्के। यो ठाउँ यरूशलेम सहरदेखि झण्डै एक शब्बाथ दिनको बाटो टाढा पर्दछ। 13 तिनीहरू त्यहाँ आइपुगेपछि, तिनीहरू आफू बसेको माथिल्‍लो तलाको कोठामा गए।

त्यहाँ पत्रुस, यूहन्‍ना, याकोब र अन्द्रियास,

फिलिप र थोमा,

बारथोलोमाइ र मत्ती,

अल्फयसको छोरा याकोब र सिमोन कनानी र याकोबको छोरा यहूदा उपस्थित थिए।

14 येशूकी आमा मरियम, उहाँका भाइहरू र अन्य महिलाहरूसँग मिलेर तिनीहरू निरन्तर प्रार्थनामा लागिरहे।

15 ती दिनमा पत्रुस, दाजुभाइ-दिदीबहिनीहरूका (तिनीहरूका संख्या करिब एक सय बीस थियो) बीचमा उभिए, 16 र भने, "दाजुभाइ-दिदीबहिनीहरू हो, येशूलाई पक्राउनेहरूको अगुवा यहूदाको बारेमा पवित्र आत्माले दावीदको मुखद्वारा जे वचन धेरै पहिल्यै बोल्नुभएको थियो, पवित्रशास्त्रको त्यो वचन पूरा हुनैपर्थ्यो। 17 किनकि त्यो पनि हामीहरूमध्येकै एक थियो, र त्यो हाम्रै सेवाको एउटा साझेदार पनि थियो।"

18 (आफ्नो दुष्‍टतापूर्ण कामको इनामबाट यहूदाले एउटा खेत किन्यो। त्यही खेतमा त्यो उँधोमुन्टो भई खस्यो र त्यसको भुँडी फुट्यो, र त्यसका सबै आन्द्राभुँडी बाहिर छरपस्ट भए। 19 यरूशलेमका हरेक मानिसले यो कुरा थाहा पाए। यसैकारण तिनीहरूले आफ्नो भाषामा त्यस खेतलाई आखेल्दामा अर्थात् रगतको खेत भनी नाम राखे।)

20 पत्रुसले भने, "किनकि भजनहरूको पुस्तकमा लेखिएको छ,

" ‘त्यसको ठाउँ उजाड होस्;

त्यहाँ बास गर्ने कोही नहोस्,’

र,

" ‘त्यसको नेतृत्वको ठाउँ अरूले लेओस्।’

21 यसैकारण एक जना यस्तो व्यक्ति छान्‍नु आवश्यक छ, जो प्रभु येशू हाम्रा साथमा हुनुहुँदा सबै कुराको साक्षी थियो। 22 त्यो मानिस यूहन्‍नाको बप्‍तिस्माको समयदेखि सुरु गरेर येशू हामीबाट माथि उठाइ लगिइनुभएको बेलासम्म हामीसँगै रहेको हुनुपर्दछ। किनकि तीमध्ये एक जना हामीसँगै उहाँ पुनरुत्थान हुनुभएको साक्षी हुनैपर्दछ।"

23 त्यसैले तिनीहरूले बर्साबास भनिने योसेफ (जसलाई युस्तस पनि भनिन्थ्यो) र मतियास गरी दुई जनालाई प्रस्ताव गरे। 24 अनि तिनीहरूले प्रार्थना गरे, "प्रभु, तपाईं सबै मानिसहरूका हृदयका कुरा जान्‍नुहुन्छ। यी दुईमध्ये कसलाई तपाईंले छनौट गर्नुभएको छ, हामीलाई देखाइदिनुहोस्। 25 अनि त्यसले यो प्रेरितको सेवाको काम गर्न सकोस्, जुन सेवाका निम्ति छानिएको ठाउँ छोडेर यहूदा आफ्नो निज ठाउँमा गयो।" 26 त्यसपछि तिनीहरूले गोला हाले, र गोला मतियासको नाममा पर्‍यो। त्यसैले तिनी एघार प्रेरितहरूसँग थपिए।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-18_14-04-22-