Publicidade

Efésios 6

1 हे छोराछोरीहरू हो, प्रभुमा आफ्ना आमाबुबाको आज्ञापालन गर; किनकि यो उचित छ। 2 "आफ्ना बुबा र आमाको आदर गर।" यो प्रतिज्ञासहितको पहिलो आज्ञा हो, 3 "ताकि तिमीहरूको भलो होस् र पृथ्वीमा तिमीहरू दीर्घायु भएर बाँच्न सक।"

4 हे बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, बरु तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।

5 हे सेवकहरू हो, ख्रीष्‍टको आज्ञापालन गरेझैँ तिमीहरूले संसारका आफ्ना मालिकहरूको आदर, भय र हृदयको इमानदारीतासाथ आज्ञापालन गर। 6 केवल उनीहरूलाई खुशी पार्ने हेतुले उनीहरूका आँखा अगाडि मात्र होइन, तर ख्रीष्‍टका सेवकहरूझैँ तिमीहरूका हृदयदेखि नै परमेश्‍वरको इच्छा पूरा गर्दै उनीहरूको आज्ञापालन गर। 7 तिमीहरूले मानिसको सेवा गरेझैँ होइन, तर प्रभुको सेवा गरेझैँ, सम्पूर्ण हृदयले सेवा गर। 8 किनकि तिमीहरू जान्दछौ, हरेक मानिसले जे असल कार्य गर्दछ, त्यही अनुसारको पुरस्कार प्रभुले त्यसलाई दिनुहुन्छ, चाहे तिनीहरू सेवक हुन् या फुक्‍का हुन्।

9 हे मालिकहरू हो, तिमीहरूले पनि आफ्ना सेवकहरूसँग त्यस्तै व्यवहार गर। तिनीहरूलाई धम्की नदेओ; किनकि तिमी जान्दछौ, तिमीहरू दुवैका मालिक स्वर्गमा हुनुहुन्छ, र उहाँमा कुनै पक्षपात हुँदैन।

परमेश्‍वरका हातहतियार

10 अन्त्यमा प्रभुमा र उहाँको शक्तिशाली सामर्थ्यमा बलिया होओ। 11 परमेश्‍वरका सारा हातहतियार धारण गर, ताकि तिमीहरू शैतानका युक्तिहरूको विरुद्धमा खडा हुन सक। 12 किनकि हाम्रो लडाइँ मानिसहरूका विरुद्धमा होइन, तर शासकहरूका विरुद्ध, अधिकारीहरूका विरुद्ध, संसारका अन्धकारका शक्तिहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा दुष्‍टताको आत्मिकी सेनाहरूका विरुद्ध हो। 13 यसकारण परमेश्‍वरका सारा हातहतियार धारण गर; ताकि खराब समयमा आफ्ना शत्रुलाई प्रतिकार गर्न सक। तब युद्धपछि पनि तिमी स्थिर भई खडा हुन सक्नेछौ। 14 यसकारण कम्मर सत्यताको पेटीले बाँध, र धार्मिकताको छाती-पाता लगाएर खडा होओ; 15 अनि खुट्टामा शान्तिको सुसमाचारको तयारीको जुत्ता लगाओ। 16 यी सबै कुराबाहेक विश्‍वासको ढाल हातमा उठाओ, जसबाट तिमीले शैतानका सबै अग्निवाणहरू निभाउन सक्नेछौ। 17 शिरमा मुक्तिको टोप लगाओ र हातमा आत्माको तरवार लेओ, जोचाहिँ परमेश्‍वरको वचन हो।

18 अनि सबै अवस्थाहरूमा, सबै प्रकारका निवेदन र अन्तर्बिन्तीसहित आत्मामा प्रार्थना गरिबस। यी कुरालाई मनमा राखी सचेत भएर सबै प्रभुका सन्तहरूका निम्ति सधैँ प्रार्थना गर। 19 मेरा निम्ति पनि प्रार्थना गर, कि जब म बोल्छु, तब सुसमाचारको रहस्य साहससँग भन्‍न मलाई शब्दहरू दिइयोस्, 20 जसको लागि म साङ्लाहरूमा बाँधिएको एक राजदूत हुँ। मैले जसरी बोल्नुपर्ने हो, त्यसरी नै म विनाडर घोषणा गर्न सकूँ।

अन्तिम अभिवादन

21 तुखिकस, जो हाम्रो प्यारो भाइ र प्रभुमा विश्‍वासयोग्य सेवक हुन्, तिनले तिमीहरूलाई सबै कुरा भन्‍नेछन्; र तिमीहरूले मेरा सबै अवस्थाबारे जान्‍नेछौ। 22 मैले तिनलाई यही विशेष उद्देश्यले तिमीहरूकहाँ पठाएको छु, कि हाम्रो हालचाल कस्तो छ भनी तिमीहरूले जान्‍न सक, र तिनले तिमीहरूलाई उत्साहित गराऊन्।

23 दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट विश्‍वाससहितको प्रेम र शान्ति मिलोस्!

24 हाम्रा प्रभु येशू ख्रीष्‍टलाई अमर प्रेमले प्रेम गर्नेहरू सबैमा अनुग्रह रहोस्!

Veja também

Publicidade
Efésios
Ver todos os capítulos de Efésios
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-