मन्दिरबाट निस्केको नदी
1 ती मानिसले मलाई मन्दिरको प्रवेशद्वारमा फेरि फर्काएर ल्याए; अनि मैले मन्दिरको सँघारको मुन्तिरबाट पानी पूर्वपट्टि निस्किरहेको देखेँ (किनकि मन्दिर पूर्वपट्टि नै फर्केको थियो)। त्यो पानी मन्दिरको दक्षिण भागको मुन्तिरबाट बगेर वेदीको दक्षिणबाट तल निस्किरहेको थियो। 2 त्यसपछि तिनले मलाई उत्तरको मूलढोकाबाट बाहिर ल्याए, र मलाई पूर्वपट्टि फर्केको बाहिरी मूलढोकाको बाहिर ल्याए; अनि पानीचाहिँ दक्षिणपट्टिबाट बगिरहेको थियो।