Publicidade

Filipenses 3

शरीरमा भरोसा नगर्नू

1 चाहे जेसुकै होस्, मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, प्रभुमा आनन्द गर। तिमीहरूलाई फेरि पनि त्यही कुराहरू नै लेख्न मलाई झर्को लाग्दैन, र यो त तिमीहरूका सुरक्षाको निम्ति हो। 2 कुकुरले जस्तै व्यवहार गर्नेहरू, खराब काम गर्नेहरू, खतना गर्नैपर्छ भन्‍नेहरूदेखि होसियार रहो। 3 किनकि हामी खतना भएकाहरू हौँ, जसले परमेश्‍वरका आत्माद्वारा उहाँको सेवा गर्दछौँ। हामी ख्रीष्‍ट येशूमा गर्व गर्दछौँ, र हामीले मानवीय परिश्रमहरूमा कुनै भरोसा राख्दैनौँ। 4 यद्यपि म आफूसँग पनि मानवीय उपलब्धीहरूमा भरोसा राख्ने कारणहरू छन्।

यदि कसैले आफूलाई यी कुराहरूमा भरोसा राख्ने कारणहरू छन् भनी ठान्दछ भने मसँग झन् धेरै कारणहरू छन्: 5 आठौँ दिनमा मेरो खतना भएको हो; इस्राएल जातिको मानिस, बेन्यामीनको कुलको, हिब्रूहरूको हिब्रू; यहूदीहरूको व्यवस्थाको अभ्यासको विषयमा हो भने एक फरिसी; 6 जोशको विषयमा हो भने मण्डलीलाई सताउने हुँ; व्यवस्थाबमोजिम धार्मिक ठहरिने कुरामा हो भने दोषरहित।

7 तर जे कुराहरू मेरा निम्ति मूल्यवान् थिए, अब ती कुराहरूलाई ख्रीष्‍टको निम्ति म व्यर्थको ठान्दछु। 8 हो, मेरा प्रभु ख्रीष्‍ट येशूको असीम मूल्यको ज्ञानको तुलनामा म अरू सबै कुराहरूलाई नै व्यर्थको ठान्दछु। उहाँको निम्ति मैले अरू सबै कुराहरू त्यागेको छु; त्यसलाई कसिङ्गरतुल्य ठानेको छु, ताकि म ख्रीष्‍टलाई प्राप्‍त गर्न सकूँ। 9 उहाँमा पाइन सकूँ, व्यवस्था पालनबाट आउने मेरो आफ्नै धार्मिकतामा होइन, तर ख्रीष्‍टमाथिको विश्‍वासद्वारा आउने त्यो धार्मिकता, जुन धार्मिकता विश्‍वासको आधारमा परमेश्‍वरबाट आउँछ। 10 म ख्रीष्‍टलाई र उहाँको पुनरुत्थानको शक्तिलाई जान्‍न चाहन्छु—उहाँको कष्‍ट भोगाइमा सहभागी हुन र उहाँको मृत्युमा उहाँजस्तै हुन चाहन्छु; 11 अनि जसरी भए तापनि मरेकाहरूबाट पुनर्जीवित हुन चाहन्छु।

12 मैले यी सबै कुरा प्राप्‍त गरिसकेको छैनँ, अथवा म लक्ष्यमा पुगेको पनि छैनँ; तर ख्रीष्‍ट येशूले जे कुराको निम्ति मलाई पक्रनुभयो; त्यही कुरा पक्रन सकूँ भनी म अगाडि बढिरहेको छु। 13 दाजुभाइ-दिदीबहिनीहरू हो, यी सबै कुरा मैले पक्रिसकेको छु भनी म ठान्दिनँ, तर म एउटा कुरा गर्दछु: पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूतिर अगि बढ्ने प्रयत्न गर्दैछु; 14 म त्यो स्वर्गीय बोलावटको पुरस्कार प्राप्‍त गर्ने लक्ष्यतर्फ अगि बढ्दैछु, जसको निम्ति परमेश्‍वरले ख्रीष्‍ट येशूमा मलाई बोलाउनुभएको छ।

पावलको अनुकरण गर्नु

15 यसकारण हामी सबै जति जना परिपक्व छौँ, यस्तै कुराहरूको विचार गरौँ; अनि यदि कुनै कुरामा तिमीहरूले भिन्दै प्रकारले सोच्छौ भने त्यो पनि परमेश्‍वरले तिमीहरूलाई स्पष्‍ट पारिदिनुहुनेछ। 16 हामीले जे जति प्राप्‍त गरिसकेका छौँ, हामी त्यसैमा जिऔँ।

17 दाजुभाइ-दिदीबहिनीहरू हो, मेरो अनुकरण गर्ने होओ र हामीलाई अनुसरण गर्नेहरूबाट सिक। 18 किनकि मैले तिमीहरूलाई धेरैपल्ट भनेको छु; अनि अहिले फेरि पनि आँसुको साथ भन्दछु, धेरै मानिसहरू ख्रीष्‍टको क्रूसको शत्रुहरूजस्तै गरी जीवन जिउँछन्। 19 तिनीहरूको अन्त्य विनाश हो; तिनीहरूका पेट नै तिनीहरूका ईश्‍वर हो, र तिनीहरूको गर्व तिनीहरूकै शर्ममा छ। तिनीहरूको मन सांसारिक कुराहरूमा लागेको छ। 20 तर हाम्रो नागरिकता स्वर्गमा छ, र हामीले स्वर्गबाट आउनुहुने मुक्तिदाता अर्थात् प्रभु येशू ख्रीष्‍टको उत्सुकतासाथ प्रतीक्षा गर्दछौँ। 21 उहाँले जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन उहाँलाई सामर्थ्य दिनुभयो; त्यही शक्तिद्वारा हाम्रा कमजोर शरीरलाई परिवर्तन गर्नुहुनेछ, ताकि ती उहाँको महिमित शरीरजस्तै हुनेछन्।

Veja também

Publicidade
Filipenses
Ver todos os capítulos de Filipenses
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-