20 फेरि परमेश्वरले आज्ञा गर्नुभयो, "पानी जीवित प्राणीहरूले भरियोस् र पृथ्वीमाथि आकाशको अन्तरमा चाहिँ चराहरू उडून्।" 21 यसरी परमेश्वरले समुद्रका आ-आफ्नै प्रकारका विशाल जलजन्तु र पानीमा झुण्ड-झुण्ड बनाएर पौडने तिनीहरूका आ-आफ्नै प्रकारका जीवित प्राणीहरू, र सबै पखेटा भएका चराहरूलाई आ-आफ्नै किसिमको गरी सृष्टि गर्नुभयो। अनि परमेश्वरले देख्नुभयो, त्यो असल थियो। 22 परमेश्वरले तिनीहरू सबैलाई आशिष् दिनुभयो र आज्ञा गर्नुभयो, "फल्दै-फुल्दै अनि संख्यामा वृद्धि हुँदै समुद्रको पानीमा भरिँदै जाओ र चराहरू पृथ्वीमा वृद्धि हुँदै जाऊन्।" 23 तब साँझ पर्यो र बिहान भयो—पाँचौँ दिन।
24 फेरि परमेश्वरले आज्ञा गर्नुभयो, "पृथ्वीले विभिन्न जातका जीवित प्राणीहरू, अर्थात् प्रत्येकका आ-आफ्नै किसिमअनुसार: घरपालुवा जनावरहरू, जमिनमा हलचल गर्ने प्राणीहरू र जङ्गली जनावरहरू उत्पन्न गरोस्।" तब त्यस्तै भयो।